देशमा शान्ति सुव्यवस्था कायम गराउन लिङ्देनलाई अन्सारीको आग्रह

Jasus Khabar 3958+ समाचार ( )
१२ वैशाख २०८२

अजमल अन्सारी

काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता डाक्टर अबुल हुसैन अन्सारीले देशमा शान्ति सुव्यवस्था कायम राख्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई आग्रह गर्नुभएको छ ।


कश्मीर घटनाका विषयलाई लिएर राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले हचुवाको भरमा मीठो शैलीमा झूट बोलेर मुस्लिम आयोग र मुस्लिम समुदायबारे भ्रामक भाष्य निर्माण गर्न खोज्नु जायज नरहेको काङ्ग्रेस नेता अन्सारीले बताउनुभयो ।


शुक्रबार पार्टी अध्यक्ष लिङ्देनलाई देशमा शान्ति सुव्यवस्था कायम गराउन र नेपाली समाजको शान्ति, सद्भाव,सहिसनुता, माया प्रेमलाई खलबल्याउने प्रयास भईरहेकोले यस्ता गतिविधिको सुक्ष्म रुपमा निगरानी गरी निरुत्साहित गर्न ध्यानाकर्षण गराउदै विज्ञप्ति बुझाएका छन् ।


विज्ञप्तिमा" हालै भारतको कश्मीर पहलगाममा आतंकवादी समुहहरूले गरेको आक्रमणमा परी नेपालका सुदीप न्यौपाने सहित २८ जना निर्दोष व्यक्तिहरूले ज्यान गुमाउने सम्पूर्ण मृतकहरू प्रति हार्दिक श्रधाञ्जलि अर्पण गर्दछौं। पहलगाममा देखिएको आतंकवाद सहित विश्वभर भईरहेको सम्पूर्ण आतंकवादी गतिविधिहरूको घोर भर्तसना समेत गर्दै धर्म जाति समुदाय राज्य वा अन्य जुनसुकै नाममा मानवता विरुद्धको हत्या हिँसा नरसंहार मचाउने आतंकावादी गतिविधिमा संलग्न जो सुकैलाई कठोर भन्दा कठोर यातना र सजाय हुनुपर्ने माननीय अध्यक्ष मार्फत नेपाल सरकार संग अपील गर्दछौं।


यस्ता गतिविधि मानवता र मानवीय संवेदना, शान्ति र समृद्धि विरुद्धको कार्य भएकोले कुनै पनि हालतमा कुनैपनि धर्म समाज वा समुदायले ठाउँ र स्थान दिनु हुँदैन हाम्रो अटल विश्वास छ। 

हालै पहलगाममा ज्यान गुमाउने रुपन्देहीका सुदीप न्योपानेलाई शहीद घोषणा गर्दै क्षतिपुर्ति सहित घरपरिवारलाई आर्थिक रोजगारका हिसाबले बन्दोबस्त मिलाउन विनम्र अपील गर्दछौं।


साथै पारस्परिक मेलमिलापका साथै शान्तिपूर्वक समृद्धि र समुन्नत समाज निर्माणका एकढिक्का भई बस्दै आएको नेपाली समाजमा पनि धर्मको आडमा बढ्दै गएको धार्मिक कट्टरता, समाजिक द्वेस र नेपाली समाजको पुंजीको रूपमा शान्ति सद्भाव सहिसनुता माया प्रेमलाई खलबल्याउने प्रयास भईरहेकोले यस्ता गतिविधिको सुक्ष्म रुपमा निगरानी गरी निरुत्साहित गर्न तपाई मार्फत सरकारलाई अपील गर्दछौं।   


साथै, तपाई अध्यक्ष रहेको राप्रपा पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्र बहादुर शाहीले २०८१ साल बैशाख १० गते मकालुखबरमा दिएको अभिव्यक्ति प्रति मुस्लिम समुदायको ध्यानाकर्षण भएको छ।   

मा ज्ञानेन्द्र शाहीले दिनुभएको अभिव्यक्तिमा केही कुराहरू कपोलकल्पित, अनर्गल, विभेदपूर्ण, अप्रासङ्गिक छन् । साम्प्रदायिक भाव बोकेका यस्ता कुराहरूले तिक्तता बढाउँछ, शान्ति र सुव्यवस्थालाई खल्बल्याउँछ ।

पहिलो कुरा, उहाँले दाबी गरेझैं मुस्लिम आयोगमा सरकारले अरबौँ खर्च गरी चलायमान बनाएको कुरा नितान्त  मिथ्या, झूट र कलुषित भावनाको उपज हो ।


मुस्लिम आयोगको प्रतिवेदन वा महालेखा परीक्षकको प्रतिवेदन नपढी राप्रपा प्रवक्ता र प्रतिनिधि सभा सदस्यजस्तो सम्मानित व्यक्तिले हचुवाको भरमा मीठो शैलीमा झूट बोलेर मुस्लिम आयोग र मुस्लिम समुदायबारे भ्रामक भाष्य निर्माण गर्न खोज्नु जायज नरहेको हाम्रो ठहर छ।


साथै उहाँले अभिव्यक्ति कै क्रममा मुस्लिम समुदायको आस्थाको केन्द्रको रूपमा रहेको मक्का मदीनामा समुदायले आफ्नो व्यक्तिगत खर्चमा जाने परम्परालाई निकै भ्रमक तरीकाले सरकारको लगानीमा जान दिएको भन्ने भ्रमक भाष्य सृजना गर्न खोज्नु भएको छ।


हज समितिमार्फत् हज्ज व्यवस्थापन नेपाल र साउदी अरब सरकारबीचको कुटनीतिक सम्बन्धसँग जोडिएकोले वि,सं २०२१ साल (पञ्चायती काल) देखि नै अनुदान दिइँदै आएको छ। नेपाली मुस्लिमको हकमा यो भीख होइन, यो उसको संवैधानिक अधिकार हो, मौलिक हक हो । यसलाई अन्यथा बनाउन खोज्नुले शाही ज्युको नियतलाई उदाङ्गो पारेको छ ।


नेपाल हिजो निरङ्कुश हिन्दू संवैधानिक राजतन्त्रात्मक राष्ट्र हुँदा पनि र आज धर्मनिरपेक्ष लोकतान्त्रिक गणतान्त्रिक राष्ट्र हुँदा पनि बहुधार्मिक, बहुजातीय, बहुसाँस्कृतिक राष्ट्र थियो र हो । मुस्लिम नेपालमा आजको आगन्तुक नागरिक होइनन। हिजोको टुक्रे नेपाल एकीकरण हुँदा जमीनसमेत मुस्लिम समुदाय नेपालमा एकीकृत भएको हो । नेपाल राज्य अलग अलग राष्ट्रहरूको एकीकरणबाट अस्तित्वमा आएको हो । अझ गोरखा राज्यको ऐतिहासिक बिस्तार र विशाल नेपालको एकीकरणमा मुस्लिम समुदायले जङ्गी अड्डाको रूपमा सुरक्षा कवच बनेर राष्ट्र निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गर्यो। नेपाली मुसलमान समुदाय राष्ट्र निर्माता समुदाय हो ।


मल्लकालीन र शाहकालीन कुटनीतिमा मुस्लिम, कान्तिपूर लगायतका तत्कालीन नेपालको अर्थतन्त्रको विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र व्यापारमा मुसलमान, कानून निर्माण र सुशासनमा मुसलमान, वि सं १७०० ताका प्रधानमत्री सरहको सरकार प्रमुखको रुपमा हुने देशको प्रथम चौतारा तथा काजी मुसलमान, साँस्कृतिक विकासमा मुसलमान, भाषिक विकासमा मुसलमान, वास्तुकला र ललितकलाको विकासमा मुसलमान, समग्र नेपाली सभ्यताको विकासमा मुसलमान । नारायणहिटी राजदरवारअगाडि दुई विशाल मस्जिद परम्परादेखि स्थापित धार्मिक सहिष्णुताको प्रतिक हो र यो समग्र नेपाली सभ्यता विकासको ज्वलन्त नमूना पनि हो ।


अनि ज्ञानेन्द्रबहादुर शाही ज्युले आज ९७ प्रतिशत हिन्दू मात्रको देश नेपाल भनी दोहोरो अर्थ लाग्ने अभिव्यक्ति दिएर कसलाई उक्साउन खोज्नुभएको हो र नेपाली मुस्लिमको जनसङ्ख्या ५,०९ प्रतिशत हो माननीय ज्यू। नेपालमा बौद्ध, किरात, इसाई, जैन, सिख, बहाई र बोनहरू पनि छन् । नेपालमा ठूलो सङ्ख्यामा नास्तिक विश्वाश भएको समुहहरू पनि छन् । देश बहुधार्मिक र धर्मनिरपेक्ष हो । नेपाली समाज बहुलवादी समाज हो भनी संविधानमै लेखिएको छ।


यो कुनै एउटा धर्म र जातिले आर्जेको मुलुक हुँदै होइन। हामी सवैको रगत बगेर बनेको छ यो विशाल नेपाल । हामी सबैबीच सयौँ वर्षदेखि रगत र मासुझैँ सम्बन्ध छ ।

माननीय अध्यक्ष ज्यु, तपाइको पार्टीको प्रवक्ताबाट यस महान इतिहासलाई तोड्ने काम भएको छ। यो मुलुकको हितमा छैन। समाजलाई जोड्ने काम गर्नुहोस्।

दोहोरो अर्थ लाग्ने, भ्रम सिर्जना गर्ने, शान्ति सुव्यवस्था खल्बल्याउने काम नगरौँ। नेपाली नागरिकमाथि आँच आउने कुनै पनि कार्यको विरुद्धमा  हामी सम्पूर्ण नेपाली एक ढिक्का छौँ । यस्ता अमानवीय कदमको विरुद्धमा सम्पूर्ण नेपाली मुसलमान गम्भीर भएर लाग्न तयार छौँ । देशमा शान्ति सुव्यवस्था कायम गर्न र गराउन हामी सबै गम्भीर हुन जरुरी छ।


उक्त अभिव्यक्तिबारे पार्टीको अधिकारिक भनाई के हो ? अन्यथा अन्य संवैधानिक बाटो अपनाउन हामी बाध्य हुनेछौं।  गम्भीर भएर पार्टीको धारणा बाहिर ल्याउन हामी मुसलमान समुदायले मांग गर्दछौं।" उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार