इजरायलले युद्ध जित्दै होला तर मान्छेको विश्वास गुमाइरहेको छ– ट्रम्प

Jasus Khabar 3945+ समाचार ( )
१७ भाद्र २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको संसदबाट इजरायलले विश्वास गुमाउँदै गएको बताएका छन् । डेली क्यालरसँग सोमबारको अन्तर्वार्तामा ट्रम्पले कांग्रेसबाट इजरायलले नियन्त्रण गुमाएकोमा आफूलाई अचम्म लागेको बताएका हुन् । 

पत्रकार रेगन  रीसले कांग्रेसमा इजरायलप्रति रिपब्लिकन समर्थन घट्दै गएको विषयमा प्रश्न सोधेका थिए । जवाफमा ट्रम्पले भने, 'इजरायलले कंग्रेसमा अरू कुनै पनि संस्था, कम्पनी वा राष्ट्रभन्दा बढी बलियो लबी राखेको थियो । आजकल, त्यसको लबी त्यति बलियो छैन । यो अचम्मको कुरा हो ।'

ट्रम्पले विगतमा इजरायलको सबैभन्दा बलियो प्रभाव रहेको दाबी गरे । उनले भने, 'तिनीहरूले कंग्रेसमा पूरै नियन्त्रण राखेका थिए तर अब उनीहरूको त्यस्तो प्रभाव छैन, म थोरै अचम्मित छु ।' 

रेगन रीसले एक पोलको प्रसङ्ग निकाले, जसअनुसार मार्चको एक पिउ पोलले ५३ प्रतिशत अमेरिकी वयस्कहरूले इजरायलको बारेमा नकारात्मक दृष्टिकोण राख्ने देखाएको थियो । सन् २०२२ मा यो ४२ प्रतिशत मात्र थियो । रीसले ट्रम्पलाई धेरै रिपब्लिकनहरूले पनि अहिले इजरायललाई नकारात्मक रूपमा हेरिरहेका बताए । 

यसले इजरायलको छवि अमेरिकी समाजमा गिर्दै गएको देखाउँछ । यसै कारण अमेरिकी कंग्रेसमा इजरायलको समर्थन पनि घटिरहेको छ ।

'इजरायली सेनाले गाजामा युद्ध समाप्त नगरेसम्म यो इजरायलको अन्तर्राष्ट्रिय प्रतिष्ठामा नकारात्मक प्रभाव पारिरहने छ,' ट्रम्पले थपे, 'उनीहरूले त्यो युद्ध सकाउनै पर्छ । यसले इजरायललाई हानी पुर्‍याइरहेको छ । यसमा कुनै शंका छैन । उनीहरूले युद्ध जितिरहेका हुन सक्छन्, तर उनीहरूले जनसम्पर्कको युद्धमा जित्न सकेका छैनन् । यो उनीहरूको लागि हानिकारक भइरहेको छ ।' 

ट्रम्पले अक्टोबर ७ को घटनालाई मानिसहरूले भुलिसकेको दाबी पनि गरे । यही कारण इजरायलको बारेमा आम मानिसमा नकारात्मक धारणा बढिरहेको ट्रम्पको निष्कर्ष छ । 

प्रतिक्रिया