कुवेतमा विषाक्त मदिरा सेवनका कारण १६ नेपालीसहित २३ आप्रवासी कामदारको मृत्यु भएपछि सरकारले अवैध मदिरा उत्पादकहरूमाथि कारबाही सुरु गरेको छ।>
कुवेतका प्रथम उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहद युसुफ साउद अल-सबाहको निरीक्षणमा सुरक्षा निकायहरूले विषाक्त पदार्थ मिथानोलको उत्पादन र वितरणमा संलग्न आपराधिक सञ्जालमाथि कारबाही सुरु गरेको हो। यसरी कारबाहीमा पर्नेमा नेपालीहरू पनि छन्।>
अनुगमनपछि कुवेतको सामान्य आपराधिक अनुसन्धान विभागले लागूऔषध नियन्त्रण विभाग, फरेन्सिक विभागको सामान्य प्रमाण विभाग र स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा सालमियामा नेपाली नागरिक भुवनलाल तामाङलाई पक्राउ गरेको छ।>
तामाङलाई मिथानोल राखेको अवस्थामा पक्राउ गरिएको र उनले त्यस्ता पदार्थ तयार पारेर र बेच्नेको स्वीकार गरेको अरब टाइम्सले उल्लेख गरेको छ।>
त्यही कनेक्सनमा अर्का नेपाली नारायणप्रसाद वस्याल र भारतीय नागरिक विशाल धन्याल चौहान पनि पक्राउ परेका छन्। त्यस्तै, मुख्य नाइके मानिएका बंगलादेशी नागरिक डेलोरा प्रकाश दराजीलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।>
त्यस्तै, अवैध मदिरा बनाउने काममा केही नेपाली महिला पनि संलग्न रहेको प्रहरीले पत्ता लगाएको छ।>
मदिराबिरुद्धको अभियानका क्रममा ठूलो संख्यामा महिला तथा पुरुषहरू पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।>
मदिरा सेवनले बिरामी परेका ३५ नेपालीसहित १ सय ६० जनाभन्दा बढी आप्रवासीकोत्यहाँका विभिन्न अस्पातलहरुमा उपचार भइरहेको छ। कुवेतमा मदिरा सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्धित छ।>>