यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिंदै आएका छन्। उनले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिंदै आएका हुन्।>
पर्साको ठोरी गाउँपालिका-१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्यालले क्यान्सरका बिरामीको सेवा गर्दै आएका हुन्। पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ।>
चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आएका उनले धेरै क्यान्सर बिरामीका कथा सुने। कतिपय बिरामीले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उनीसँग पोख्थे।>
उनले भने, “मैले आफ्नो अटोबाट केही सहयोग गर्न सक्छु भने किन नगर्ने भनेर निःशुल्क सेवा सुरु गरें।”>
यही सोचले उनले गएको मातातीर्थ औंसीदेखि निःशुल्क सेवा सुरु गरेका हुन्। उनले हरेक बिहान ७ः०० देखि १०ः०० बजेसम्म पुल्चोकबाट बिपी कोइराला क्यान्सर अस्पतालसम्म बिरामी र तिनका आफन्तलाई निःशुल्क दिंदै आएका छन्।>
उनले भने, “बिहान धेरै बिरामी टोकन लिन अस्पताल पुग्छन्, त्यसैले मैले यो समय छानेको हुँ।”>
पश्चिमबाट आउने बसहरूले धेरै बिरामी झार्ने उनको अनुभव छ। त्यसैले उनले पुल्चोक आधार बनाएर सेवा दिएको बताए। बसमा नारायणगढमा झर्ने कतिपय बिरामी उनको अटो खोज्दै आउँछन्, त कतिपयलाई उनी आफैंले बसबसमा गएर खबर गर्छन्।>
>
दश बजेपछि पनि कोही बिरामी भेटिए आफन्तसहित तीन जना छन्। एकजना बिरामीको भाडा उनले लिंदैनन्। बाटोमा बुढाबुढी हिंडिरहेको देखे भने पनि उनले उनीहरूलाई निः शुल्क गन्तव्यसम्म पुर्याउँछन्। त्यसो त अन्य समयमा युवक अर्यालले व्यावसायिक रूपमा अटो चलाउँछन् र त्यही आम्दानीले परिवार चलाएका छन्।>
विदेश जाने तयारीमा रहेका युवक अर्यालले आफ्नो मामाको विदेश अनुभव सुनेपछि स्वदेशमा नै केही गर्ने अठोट लिएको सुनाए।>
उनले भने, “आफ्नै देशमा बसेर आफ्नो काम गर्दै केही समय दुःखीको सेवा गर्न चाहन्छु।”>
सेवाका लागि धन होइन, मन चाहिने दृष्टान्त उनले प्रस्तुत गरेका छन्। >
>
>>