लमजुङको राईनास नगरपालिकामा एक युवकको हत्या भएको २४ घण्टा नबित्दै प्रहरीले घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ।>
जिल्ला प्रहरी कार्यालय लमजुङले मादक पदार्थ सेवनपछि भएको विवादमा साथीले नै ढुंगाले प्रहार गरी हत्या गरेको निष्कर्ष निकालेको छ।>
प्रहरीका अनुसार राईनास नगरपालिका-४, सातबिसेस्थित निर्माणाधीन नगर अस्पतालमा रेखदेखको काम गर्ने सिन्धुली कमलामाई नगरपालिका-१० घर भएका २२ वर्षीय विशाल दाहालको हत्या भएको हो। उनको शव असोज १२ गते साँझ आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेको थियो।>
मृतक दाहालको शव घोप्टो परेको अवस्थामा टाउकोको पछाडिपट्टि गहिरो चोट लागेको र रगतले लतपतिएको ढुंगा शव नजिकै फेला परेपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढाएको थियो।>
प्रहरी चौकी तिनपिप्लेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थलको ढोका बाहिरबाट बन्द रहेको तर झ्याल खुला रहेको अवस्थामा फेला पारेको थियो।>
तत्काल गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षकको टोली घटनास्थल पुगेको थियो।>
अनुसन्धानका क्रममा प्रहरीले मृतक दाहाल पछिल्लो समय राईनास-३ का ३० वर्षीय सागर परियारसँगै हिँडडुल गर्ने र मादक पदार्थ सेवन गर्ने गरेको तथ्य फेला पारेपछि उनीमाथि निगरानी बढाएको थियो।>
अभियुक्त परियार सदरमुकाम बेसीशहरमा एक साथीकोमा लुकेर बसेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।>
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राज किशोर साह तेलीका अनुसार, प्रारम्भिक सोधपुछका क्रममा परियारले आफ्नो अपराध स्वीकार गरेका छन्।>
परियारले प्रहरीसमक्ष दिएको बयानअनुसार, असोज ११ गते साँझ उनीहरूले रक्सी र मासु लिएर मृतक दाहाल बस्ने कोठामा गई सेवन गरेका थिए।>
सोही क्रममा राति अबेर दुई जनाबीच विवाद बढ्दै जाँदा आफूले नजिकै रहेको ढुंगाले दाहालको टाउकोमा प्रहार गरी हत्या गरेको उनले स्वीकार गरेका छन्।>
प्रहरीले आफन्त, जनप्रतिनिधि र स्थानीयको रोहवरमा शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल, लमजुङ पठाएको छ।>
पक्राउ परेका परियारलाई हिरासतमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।>>