काठमाडौंको इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठले यस वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेकी छन्।>
उनको यो प्रेरणादायी मेहेनत र थप अध्ययनको चाहना सञ्चारमाध्यममा सार्वजनिक भएपछि भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले गोमालाई एमबीबीएस तहसम्मको अध्ययन गराउने वचन दिएका छन्।>
बिहीबार भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरुङ दम्पतीले गोमालाई एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका थिए।>
गुरुङले गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा कक्षा ११ र १२ सम्मको अध्ययन आफ्नै खर्चमा गराउने प्रतिबद्धता जनाएका छन्। त्यसपछि एमबीबीएस तहसम्मको अध्ययनका लागि पनि सहयोग गर्ने वचन दिएका छन्।>
चाँगुनारायण नगरपालिका–८, सुडालको एक इँटाभट्टामा बस्दै आएकी गोमाले बिहान–बेलुकी इँटा सुकाउने काममा सघाउँदै आएकी थिइन्। धान रोपाइँमा मेला गएर फर्किँदा नै उनले आफ्नो एसईईको नतिजा सार्वजनिक भएको र ४ जीपीए प्राप्त गरेको खबर पाएकी थिइन्।>
गोमाले आफूलाई डाक्टर बन्ने चाहना रहेको बताएकी थिइन्। उनको यो सपना पूरा गर्नका लागि भाटभटेनी समूहका अध्यक्ष तथा व्यवसायी गुरुङले एमबीबीएस तहसम्मको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने प्रतिबद्धतासहित सहयोग गरेका छन्।>>