प्रशासनको आदेशको अवहेलना: मेलामा जुवाजन्य खेल खेलाइदै आयोजक

Jasus Khabar 3925+ समाचार ( )
३ आषाढ २०८२

सुनसरी । ईटहरी उपमहानगरपालिका- १३ खनारस्थित सोमबारेमा जारी रमाइलो मिनि मेलामा खुलेआम प्रहरीकै अगाडी जुवाजन्य गतिविधिको खेल भइरहेको गुनासो बाहिरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशलाई समेत अवहेलना गर्दै मेला आयोजक समितिले शक्ति र दम्भ देखाउदै जुवाजन्य खेल खेलाइरहेका छन् ।


जिल्ला प्रशासन कार्यालय सुनसरीले कानुनले वर्जित गरेको जुवाजन्य खेल नखेलाउने आदेश जारी गर्दै मर्यादित र सभ्य तवरले मेला संचालन गर्न अनुमति दिएपनि आयोजकले त्यस आदेशलाई बेवास्ता गर्दै मनमोैजी रुपमा प्रशासनलाई बदनाम गर्न र आफ्नो स्वार्थको लागि आर्थिक प्रलोभनमा जुवाजन्य खेल खेलाइरहेका छन् ।


रमाइलो मिनि मेलामा जुवाजन्य खेलहरु भएपनि प्रहरी कार्यालय खनार भने रमिता देखेर टुलुटुलु बसेको स्थानीयहरुले आरोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रहरीलाई पत्राचार गर्दा समेत प्रहरीले जुवाजन्य खेललाई बन्द गराउन नसकेको स्थानीयहरु बताउँछन् ।


राजाजी बिच्छु धामी ग्रामथानले आयोजना गरेको मेलामा दिनभरजसो सुनसान झैँ रहने मेलामा साँझ परेपछि भने निकै घुँइचो लाग्ने गर्छ । मेलामा जुवा जन्य गधिबिधी खेल्ने पारखीहरुको बाक्लो भिड उलर्ने हुँदा दैनिकजसो ठुलो रकमको हारजित हुने गरेको छ ।


प्रहरी कार्यालय खनार मेला स्थल नजिकै भएपनि अवाञ्छित गतिविधिमा संगलग्नहरुलाई नियन्त्रणमा लिन सकेका छैनन् । मेला स्थलमा समेत प्रहरीको बाक्लो उपस्तिथि देखिएपनि अपराध नियन्त्रण तथा अवाञ्छित गतिविधि गर्नेहरुलाई कानुनको दायरामा ल्याउन सकेका छैनन् ।


मेला आयोजक समिति र स्थानीय दलालहरुका लागि दैनिकजसो कमाई खाने भाँडो समेत बन्न पुगको छ । स्वयं मेला संचालनमा खटिएका व्यक्तिहरु नै आफुहरुले सबैलाई मिलाएको र केहीले दैनिकी बुझ्ने गरेको बताउँछन् । मेला संचालकहरु कमाई नहुँदा आफुहरु डुब्न लागेको बताउँदै आफुहरुले जुवा खेलाउन नपाए ठुलो घाटाको सामना गर्नु पर्ने बताउने गरेका छन्।


यता प्रहरी कार्यालय खनारका प्रमुख शशि जलन्धर बरालले जुवाजन्य खेल र अवाञ्छित गतिविधी चलेको बारे आफूलाई जानकारी नभएको र आफुले यसलाई बुझ्ने आवश्यक कदम चाल्ने प्रतिक्रिया दिनुभयो ।


जिल्ला प्रशासन कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीले आदेश विपरीत गर्ने/गराउनेहरुलाई कानुनी दायरामा ल्याएर कार्वाही गर्नुपर्दछ । यस्ता जुवाजन्य खेलले परिवार र समाजलाई नकारात्मक दिशा तर्फ धकेलिएको छ । प्रहरी र प्रशासनले तत्कालै आवश्यक कदम चाल्नुपर्ने देखिन्छन् । 


प्रतिक्रिया

सम्बन्धित समाचार