सुनसरीमा विविध कार्यक्रमसहित गणतन्त्र दिवस भव्य रूपमा मनाइयो

Jasus Khabar 3925+ समाचार ( )
१७ जेठ २०८२

अजमल अन्सारी

सुनसरी । गणतन्त्र दिवस २०८२ को अवसरमा सुनसरी जिल्लामा विविध कार्यक्रमसहित भव्य रूपमा दिवस मनाइएको छ। जिल्ला स्तरीय समिति सुनसरीको आयोजनामा तीन दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार बिहीबार बिहान प्रभातफेरी कार्यक्रमसहित गणतन्त्र दिवसको सुरुवात गरिएको हो।


प्रभातफेरी कार्यक्रम जिल्ला प्रशासन कार्यालय सुनसरी परिसरबाट सुरु भई सहिद गेट, जिल्ला प्रहरी कार्यालय, लोकतान्त्रिक चोक हुँदै जिल्ला समन्वय समिति सुनसरी कार्यालय परिसरमा पुगेर राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम गर्दै सम्पन्न भएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले गणतन्त्रलाई संविधानको अक्षरमा मात्र सीमित नराखी व्यवहारमा समेत कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय अभिवृद्धि गर्दै नागरिकका आधारभूत अधिकार सुनिश्चित गर्ने गरी गणतन्त्रको अभ्यास गर्न आवश्यक रहेको बताउनुभयो। “संविधानले दिएको अधिकार व्यवहारमा समान रूपमा कार्यान्वयन हुन सके मात्र गणतन्त्रको सार्थकता हुन्छ,” उहाँले भन्नुभयो।


उक्त अवसरमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापा, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका प्रमुख तुलसी कट्टेललगायत सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरकारी निकायका पदाधिकारीहरू सहभागी भएका थिए।


गणतन्त्र दिवसलाई थप उत्साहपूर्वक मनाउन शुक्रबार र शनिबार पनि विविध कार्यक्रम आयोजना गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया