युवा दिवसको अवसरमा काठमाडौँमा ‘विविधताको उत्सव-डाइभर्सिटी कार्निभल’ सम्पन्न

Jasus Khabar 3925+ समाचार ( )
२७ श्रावण २०८२

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा ‘विविधताको उत्सव-डाइभर्सिटी कार्निभल’ सम्पन्न भएको छ। दलित लाइभ्स म्याटर ग्लोवल अलायन्सको आयोजनामा प्यानल डिस्कसन, युवाहरूबीच संवाद, बैचारिक प्रशिक्षण र संगीतिक प्रस्तुति लगायतका  कार्यक्रम गरी विविधताको उत्सव मनाइएको हो।

उत्सवमा चमार समुदायकी पहिलो महिला मेडिकल डाक्टर स्मृति हरिजनले ‘कि नोट स्पिच’ दिएकी थिइन्।

डाक्टर हरिजनले आफू चमार समुदायबाट डक्टर बन्न गरेको दुःखको अनुभूति सुनाइन्। ‘आर्थिक अवस्था हेर्दा पढ्न कठिन थियो, समाजको विभेद उस्तै थियो। तर, बुवाले निरन्तर प्रेरणा दिनुभयो। पढ्ने आदत बसालिदिनु भयो,’ उनले भनिन्, ‘बुवाले दिएकाे शिक्षा नै सबैभन्दा ठूलाे उत्प्रेरित गर्‍याे। बुवाले जग्गा बेचेर मजदुरी गरेर हाम्रो पढाइमा लगानी गर्नुभयो।’

प्यानल डिस्कसनमा नेपाली फुटबल टिमकी क्याप्टेन अन्जिला तुम्बाप्पो सुव्बा, अभिनेता नाजिर हुसेन, विश्वका आप्रवासीका नेनृत्वकर्ताको रुपमा काम गरिरहेका महेन्द्र पाण्डे, मुसहर समुदायबाट नेपाल सरकारको उपसचिव पदमा पुगेका सुनिल कुमार पासवान र बोल्न र सुन्न नसक्ने क्वेर मीना जोशीले दोभासेको सहायतामा प्रदीप परियारसँग उत्प्रेरित संवाद गरेका थिए।

संवादमा बोल्दै राष्ट्रिय फुलबल टिमकी क्याप्टेन अन्जिला तुम्बाप्पोले दाइहरूसँग खेलेर फुटबल सिकेको र केटाहरूको बीचमा कट्टु लगाएर खेल्दा समाज र परिवारबाट दवाब झेल्नु परेको सुनाइन्। हिजो सामान्य खेलाडी भए पनि अहिले आफूसँग सिंगो देश नै जोडिएकाले र जिम्मवारीबोध भएकाे स्विकारिन्। ‘हालै ग्रीसमा ए डिभिजन लिगहरू खेलेर आएँ, यो जीवनका निकै ठूलो उपलब्धी थियो। अब हाम्रो वर्ल्ड कप खेल्ने सपना छ। सायद त्यो इच्छा पनि चाडै पुरा हुन्छ होला,’ उनले भनिन्।

भारतमा ढल सफा गर्ने समुदायमा जन्मिएर सफाइ कर्मचारी आन्दोलनको माध्ययमबाट रोमन म्यागेसेस अवार्ड विजेता वल्सन बेजवडा र लेखक सीके लालले जात व्यवस्थामाथि आफ्नो धारणा व्यक्त गरेका थिए। उनले भने, ‘उत्पीडितविरुद्धको अभियान र संघर्ष एक पटकको लागि नभइ निरन्तर चल्ने र गरिरहनुपर्छ।’

त्यस्तै, लेखक सीके लालले जात व्यवस्था कर्म नभइ सत्ता भएको र आत्मसम्मानको खोजीको लागि सत्तासँग संघर्ष गर्नुपर्ने उल्लेख गरे । ‘विविधता भनेको रचनात्मकता र शक्ति हो त्यसैले यसलाई उत्सव रुपमा मनाऔ,’ उनले थपे ।

उपसचिव सुनिल कुमार पासवानले आफू शिक्षक हुँदै निजामतिमा आएको र त्यसपछि आफ्ना समुदायका थुप्रै मानिसहरू निजामति सेवा प्रवेश गरेको बताए। ‘मैले खुला बाटै शिक्षक सेवा आयोगमा पनि एक नम्बरमा नाम निकालेको थिएँ, आफ्नो समुदाय प्रशासनमा पीडित भएकाले फेरि निजामतिमा पनि खुलाबाटै नाम निकाले,’ उनले भने, ‘हामी जस्ता युवा आएपछि अहिले सरकारी सेवामा मुभमेन्ट जस्तो भइरहेको छ। राज्यले कल्पना गरेको अहिले वास्तविकतामा देखिदै छ।’

पाल्पाको सामान्य परिवारमा जन्मीएर आप्रवासी मजदुरी गर्दै विश्व आप्रवासीको नेतृत्वमा पुगेका महेन्द्र पाण्डेले आफूलाई साउदीमा काम गर्दा देखेका पीडाहरूले मजदुरको हकहितको लागि लड्नको लागि प्रेरणा मिलेको उल्लेख गरे। फ्रिडम फण्ड अमेरिकाको उपाध्यक्ष र ह्युमानिटी युनाइटेडको बोर्ड सदस्यसम्म पुगेका पाण्डेले सबैसँग फ्रस्टेड भए पनि आफ्नो सपना र लक्ष्यसँग कहिल्यै फ्रस्टेड नहुन युवाहरूलाई उत्प्रेरणा दिए ।

‘पढ्ने र भर्‍याङ बनाउने मेरो र परिवारको सपना थियो, बैदेशिक रोजगारीबाट फर्किएर संस्था स्थापन गरे पढे र यहाँसम्म पुगे,’ उनले भने, ‘हामीले आफ्नो अनुहारमा होइन की समाजको ऐनमा हेर्नुपर्छ। एक जना मात्रलाई पनि हामीले सहयोग ग¥यो भने त्यसले खुशी र प्रतिफल दिन्छ। सपना सानो ठूलो हुँदैन सानो कुराहरुलाई पनि सेलिब्रेट गर्न सिक्नुपर्छ।’

यसैगरी कलाकार नाजिर हुसेनले आफू मधेशको खोला छेउमा हुर्किएर आएको मानिसले यहाँसम्म पुग्नु कल्पनाभन्दा बाहिरको कुरा भएको बताए। मधेसी भाषाकै कारण थुप्रै पटक फिल्ममा अस्वीकार भएको र सर्वस्वीकार्यको लागि आफू गोरो हुन अनेक उपायहरुसमेत अपनाएको तितो यथार्थ सुनाए।
‘म हिन्दु ममी र मुस्लीम बाबा भएको परिवारमा हुर्किएर बहुसंस्कृतिको अभ्यास गर्न पाएँ। सुफी, कला र सृजनामा सानैदेखि लगाब थियो,’ उनले भने, ‘तर, फिल्ममा अस्वीकृत भए पनि किताबहरूले मलाई त्यसका बाबजुत बलियो गरी उभिन उत्प्रेरित गर्‍याे।’

मधेशलाई सबैले कमेडी, गुण्डा र पानीपुरी वालाको रोल राख्ने नेपाली फिल्मको परम्परालाई आफूले केही हदसम्म तोडेको पनि उनको दावी थियो ।

कान नसुन्ने र बोल्न पनि नसक्ने रेन्वो डिसविलिटी नेपालकी उपाध्यक्ष मिना जोशीले दोभासे सुनिता श्रेष्ठको माध्यमबाट आफ्नो कुरा खुलस्त रूपमा राखिन्। ढलेको बिजुलीको पोलले लागेर यस्तो अवस्थामा पुगेको बताएकी मिनाले अवसर र मौका पाए आफूहरूले पनि अगाडि बढ्न सक्ने उल्लेख गरिन्।

‘म काभ्रेमा निम्न परिवारमा जन्मिएँ, पछि काठमाडौं आएर डिएभी स्कुलमा पढें। अहिले संस्थामा काम गरिरहेकी छु,’ उनले थपिन्, ‘पछि आफू क्वेर भएको थाहा पाउँदा साथीहरू र परिवारले अस्वीकार गरें। मैले बल्ल-बल्ल परिवारलाई मनाएँ र लड्न सिकें।’

‘मेरो सपना भनेको अपांगता भएका लैंगिक अल्पसंख्यकको लागि उदाहरणीय काम गर्नु हो। कुनै पनि मानिसलाई भेदभाव नगर्नुस्, पढाएर पनि के काम भन्ने नसोच्नुस्, अवसर पाएपछि जसले पनि सक्छ नी! पहिला तपाईंहरूले सिर्जना गर्नुभएको बाधाहरू हटाइदिनुस्।’ जोशीले भनिन्।

कार्यक्रममा देशैभरिबाट दलित, मधेशी, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, अपांगता भएका व्यक्तिहरू तथा विविध यौनिक तथा लैंगिक पहिचान भएका करिब डेढ सय युवाहरूले सामाजिक भाष्य र त्यसको प्रभाव, युवा र अवसर, युवा र समग्र स्वास्थ्य, जलवायु विषयक छुट्टा छुट्टै कार्यशालामा गहन छलफल भएको थियो।

कार्यक्रममा महिला ब्याण्ड कासा र किरण नेपालीको सांगीतिक समुहले प्रस्तुति दिएका थिए।

प्रतिक्रिया