भाइटीकाको दिन मौसम कस्तो रहला ?

Jasus Khabar 1+ समाचार ( )
२८ कार्तिक २०८०

 भाइटीकाका दिन भोलि पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिकदेखि सामान्यतया सफा छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 पहाडी भेगमा आंशिक बदली र कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तिहारको भाइटीकाको दिन मौसम सामान्यतया सफा नै रहने देखिन्छ”, मौसमविद मानन्धरले भनिन् । 

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि वर्षा गराउने प्रणाली विकास गराउन नसक्ने मानन्धरको भनाइ छ । सङ्घीय राजधानी काठमाडौँमा अबको दुई दिन मौसम सामान्यतया सफा रहनेछ । उपत्यका आसपासका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मौसम सफा रहनेछ ।


प्रतिक्रिया