१० वर्ष बित्यो, अझै बनेन पुल

Jasus Khabar 3925+ समाचार ( )
१६ भाद्र २०८२

 एउटा झोलुंगे पुल निर्माण गर्न एक, दुई, तीन वा कति वर्ष लाग्छ ? सहज जवाफ हुन सक्छ, बढीमा दुई वर्ष । प्राविधिक कारणले सम्पन्न हुन नसके अरू एक वर्ष म्याद थप हुन सक्छ ।

जिल्लाका पहाडी भूभागमा बनेका झोलुंगे पुलहरू पनि सरदर दुई वा तीन वर्षभित्र बनिसकेका हुन्छन् तर, मनास्लु पदमार्गमा पर्ने सामागाउँ र साम्दोबीचको बूढीगण्डकीमाथिको पुल विगत १० वर्षदेखि जिपमात्र बनेर अलपत्र छ ।

आर्थिक वर्ष २०७२/०७३ मा योजना सम्झौता भएर अहिलेसम्म पुलको जिपबाहेक केही काम नभएको पूर्ववडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिए । सो पुल नबन्दा मनास्लु क्षेत्र भ्रमण गर्ने, लार्केपास गर्ने विदेशी पर्यटक, सामागाउँ र साम्दोगाउँ आवतजावत गर्ने स्थानीय बासिन्दा र तिब्बत सीमाना रुइला जाने यात्रुहरू बूढीगण्डकीमाथिको फड्के तर्न बाध्य छन् ।

आफ्नो कार्यकालमा सुरु भएको योजनाको काम अर्को कार्यकाल बित्दा लाग्दासमेत अलपत्र भइरहेको पूर्ववडाध्यक्ष लामाले गुनासो गरे । ‘पहिलो चुनाव सकेको दुई वर्ष अर्थात् २०७२/०७३ सालमा सम्झौता भएको सामागाउँ र साम्दोगाउँबीचको बूढीगण्डकीमाथिको झलुंगे पुल निर्माण सुरु भएको १० वर्ष बित्दा पनि जिपबाहेक अरू काम गर्ने तालसुरै छैन’, उनले भने, ‘हरेक आर्थिक वर्षको अन्त्यमा कार्यसम्पादनको मूल्यांकन गराउँदै सम्बन्धित निकायहरूको मिलेमतोमा म्याद थप भइरहेको छ ।’ कि, यथाशीघ्र पुल निर्माण गर्नुपर्ने, कि पुलजिपसमेत भत्काएर आफ्नो जमिन जस्ताको तस्तै बनाउनुपर्ने उनले चुनौती दिए ।

यत्तिका लामो समयसम्म पुल अलपत्र हुँदा पनि दुर्गमका बासिन्दाको दुःख कसैले नदेखेको पूर्ववडाध्यक्ष लामाले बताए । ‘न त पुल बन्यो, न त राज्यको पैसा नै बच्यो, कठै दुर्गमवासी’, उनले भने, ‘न त झोलुंगे पुल तरेर सुरक्षितपूर्वक बूढीगण्डकी वारपार गर्ने सपना साकार बन्यो, न त यसको विषयमा खबरदारी गर्ने निकाय वा व्यक्ति नै भेट्यौं । कठै ! उत्तरीगोरखाको भोटबासी भोटे ।’ यहाँ पुल बनाउन सुरु भएपछि कादुरी नामक विदेशी संस्थाले अरू ठाउँमा दुईचारवटा पुल बनाइसकेको, तर सरकारले बनाउन लागेको पुल अलपत्र बनेको उनको गुनासो छ ।

नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले यहाँ पुल बनाउन लागेको हो । २२० मिटर लम्बाइ, तीन मिटर चौडाइ भएको सो पुल डेढ वर्षभित्र सम्पन्न गर्ने गरी हरिहरि शर्मिला जेभी कम्पनीले योजना सम्झौता गरेको विभागका सबइन्जिनियर जयप्रकाश गिरीले जानकारी दिए । निर्माण कम्पनीको लापारबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको विभागले जनाएको छ ।

त्यहाँ झोलुंगे पुल नहुँदा बर्सेनि फड्के बनाइरहनुपर्ने उहिल्यैदेखिको समस्या आजसम्म ज्युँकात्युँ रहेको वर्तमान वडाध्यक्ष कर्मा छेवाङ लामा बताउँछन् । ‘हामीले कैयौंपटक पुल विभाग धाएको धायै छौं, तर ल ल भनेर टारिरहेका छन्’, उनी भन्छन्, ‘अब त बनाउँछ कि भन्ने आशा गरेर बसेका छौं ।’

प्रतिक्रिया