भूमि चौहानका लागि अहमदाबादको ट्राफिक बन्यो ‘वरदान’, ५ मिनेटको ढिलाइले छुट्यो एयर इन्डियाको फ्लाइट

Jasus Khabar 3925+ समाचार ( )
३१ जेठ २०८२

३० वर्षीया भूमि चौहानलाई सुरुमा लागेको थियो– फ्लाइट छुट्नु दुर्भाग्य हो । तर, केही मिनेटपछि उनी त्यो ५ मिनेटको ढिलाइका लागि भगवान्‌प्रति आभारी भइन् । अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान, जसमा केही मिनेट ढिला हुँदा चढ्न नपाएकोमा उनी दुर्भाग्य मानिरहेकी थिइन् । तर, उडान भरेको केही मिनेटमै विमान दुर्घटनाग्रस्त भयो । यो भयावह दुर्घटनामा २ सय ४१ जनाको ज्यान गयो भने केवल एक जना मात्र जीवित बाँच्न सके ।

भूमि चौहान गुजरातको अंकलेश्वरबाट अहमदाबाद एयरपोर्ट जाँदै थिइन्, तर ट्राफिक जामका कारण उनी ५ मिनेट ढिला पुगिन् । ढिलाइका कारण उनलाई बोर्डिङ गेटमा प्रवेश दिइएन । सुरुमा आक्रोशित र निराश भूमि आफ्नो टिकटको पैसा र जागिर गुम्ने डरले चिन्तित थिइन् । तर जब उनलाई प्लेन क्र्यासको खबर आयो, उनी स्तब्ध भइन् । र  ट्राफिक जामलाई धन्यवाद दिन थालिन्, जसले अप्रत्यक्ष रूपमा उनको ज्यान जोगायो ।

'हामी मन्दिर गयौँ र भगवानलाई धन्यवाद दियौँ,' उनले भनिन् । सुरुमा अध्ययनका लागि बेलायत गएकी भूमिले दुई वर्षअघि ब्रिस्टल शहरका एक बैंकर केवल चौहानसँग विवाह गरेकी थिइन् । भूमिले भनिन्, 'म पढ्न बेलायत गएकी थिएँ र त्यहाँ पार्ट-टाइम जागिर पनि गर्थें । बिहेपछि दुई वर्षपछि म घर फर्केकी थिएँ र डेढ महिनायता अंकलेश्वरमै थिएँ । बिदा सकिएपछि म फेरि बेलायत फर्किंदै थिएँ ।'

आफूले फ्लाइटका लागि  अनलाइनबाट नै चेक-इन गरिसकेको भए पनि बोर्ड गर्न नदिइएको उनले बताइन् । 'एयर इन्डियाका स्टाफले मलाई ढिलो भयो भने । इमिग्रेसन र बोर्डिङको प्रक्रिया सकिएको थियो, त्यसैले मलाई जहाजमा चढ्न दिएनन् । मैले धेरै बिन्ती गरेँ, जागिर गुम्न सक्छ पनि भनेँ । टिकटको पैसा पनि खेर जानेभो भनेँ, तर कसैले सुनेन । मैले रिफन्डको पनि आग्रह गरेँ, तर मानेनन्', भूमि भन्छिन् ।

त्यसपछि भूमि एयरपोर्टबाट फर्किइन् र बाटोमै चिया पिइरहँदा उनलाई विमान दुर्घटनाको खबर प्राप्त भयो । 'हामी चियाका लागि रोकिएका थियौँ र ट्राभल एजेन्टसँग रिफन्डको कुरा गरिरहेका थियौँ । त्यत्तिकैमा अंकलेश्वरबाट फोन आयो कि म चढ्ने प्लेन क्र्यास भएको छ,' उनले भनिन् ।

'हामी तुरुन्तै मन्दिर गयौँ र भगवानलाई धन्यवाद दियौँ । अहमदाबादको ट्राफिकले मेरो ज्यान बचायो,' उनले भनिन् ।

लन्डन जाँदै गरेको बोइङ ७८७–८ विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १ जना क्यानाडेली नागरिक थिए । यात्रुहरूमध्ये गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि सवार थिए । विमान दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।  विमानमा सवार २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको छ । 

विमान आवासीय क्षेत्रमा बजारिएकाले त्यहाँ पनि कैयौँको मृत्यु भएको आशंका गरिएको छ । अहमदाबादका एक वरिष्ठ स्वास्थ्य अधिकारीले विमानका यात्रुहरूबाहेक थप ८ जनाको पनि मृत्यु भएको पुष्टि गरेका छन् । 

दुर्घटनामा एक जना बेलायती नागरिक विश्वास कुमार रमेश बाँच्न सफल भएका छन् । उनले मिडियासँग भनेका छन्, 'टेकअफ भएको ३० सेकेन्डमै ठूलो आवाज आयो अनि प्लेन क्र्यास भयो । सबै कुरा अत्यन्तै छिटो भयो ।'


प्रतिक्रिया