सुनसरी । कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलका छोरा निलेश मण्डलको एक अडियो क्लिप सार्वजनिक भएको छ । जसमा उनले हिन्दु–मुस्लिम समुदायबीच धार्मिक द्वन्द्व गराउने अभिव्यक्ति दिएका छन् । अडियोमा उनले अभद्र भाषा प्रयोग गर्दै आफ्नो पितालाई "कसैले केही गर्न नसक्ने" दाबी गरेका छन् ।>
सार्वजनिक अडियोमा निलेश मण्डलले नक्कली नोट कारोबारमा संलग्न व्यक्तिलाई मन्त्री मण्डलले संरक्षण दिएको पनि बताएका छन् । केही समयअघि पक्राउ परेका नक्कली नोट कारोबारीलाई प्रहरीबाट आफ्नो बुवाले जोगाएको समेत उनले अडियोमा उल्लेख गरेका छन् ।>
>
सामाजिक सञ्जालमा नाम नखुलाउने सर्तमा एक प्रयोगकर्ताले बताएअनुसार, निलेश मण्डललाई जब ती व्यक्तिले समाचार लिंक पठाए, उनले त्यसको जवाफमा अश्लील गालीगलौज गर्दै "कसैले केही गर्न सक्दैन" भन्ने सन्देश पठाएका थिए ।>
>
मन्त्री मण्डल पहिले नै क्युआर कोडमार्फत अनुचित लेनदेन गरेको र खेताला स्वकीय सचिव नियुक्त गरेको आरोपमा विवादमा तानिइरहेका छन् । यो पछिल्लो घटनाले थप आलोचना निम्त्याएको छ ।>
>
यस विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले भने, “धार्मिक उत्तेजना फैलाउने विषय गम्भीर हो, अडियोको सत्यता पुष्टि गर्ने कार्य प्रारम्भ गरिएको छ । यदि कानुनी उल्लंघन भेटिएमा आवश्यक कारबाही हुन्छ ।”>
>
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पनि घटनालाई गम्भीर रूपमा लिएको जनाएका छन् । “धार्मिक सौहार्द विथोल्ने कुनै पनि गतिविधिलाई बर्दास्त गरिँदैन । अनुसन्धानपछि दोषी भेटिएमा कानुनबमोजिम कारबाही हुन्छ,” सीडीओ मिश्रले भने ।>
>
सार्वजनिक अडियो क्लिपको प्रमाणिकता र यसमा उठाइएको दाबीको सत्यतथ्य पत्ता लगाउन अहिले अनुसन्धान अघि बढाइएको प्रशासनले जनाएको छ । यता, मन्त्री मण्डल भने यसबारे कुनैपनि प्रतिक्रिया जनाएका छैनन् ।>
>