स्पेनिस महारथी रियल मड्रिड र साउदी अरबको क्लब अल-हिलाल फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् । >
लिङ्कन फाइनान्सियल फिल्डमा भएको समूह 'एच' को अन्तिम खेलमा साल्सबर्गलाई ३-० ले पराजित गर्दै रियल मड्रिड समूह विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।>
खेलको ४०औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा भाल्भर्डेले गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर पारेका थिए ।>
पहिलो हाफमा २-० को अग्रता लिएको रियल मड्रिडले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ८४औँ मिनेटमा गोन्जालो गार्सियाले गोल गर्दै रियल मड्रिडलाई ३-० को जित दिलाए ।>
यस्तै, साउदी अरबको क्लब अल-हिलालले पाचुकालाई २-० गोलअन्तरले पराजित गर्यो । अल-हिलालको जितमा सलेम अलदावसारी र मार्कोस लियोनार्डोले गोल गरे । >
खेलको २२औँ मिनेटमा सलेमले गोल गर्दै अल-हिलाललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा मार्कोसले गोल गर्दै अल-हिलाललाई २-० को जित दिलाएका हुन् । >
जितसँगै ३ खेलबाट ७ अंक जोडेको रियल मड्रिड समूह 'एच' को विजेता रूपमा अन्तिम १६ मा प्रवेश गर्यो । ३ खेलबाट ५ अंक जोडेको साउदी अरबको क्लब अल-हिलाल समूह उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्दा साल्सबर्ग भने समान खेलबाट ४ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ । पाचुका भने जितविहीन बन्यो । >
अब समूह 'एच' को विजेता रियल मड्रिडले अन्तिम १६ मा इटालियन क्लब युभेन्ट्स तथा उपविजेता अल-हिलालले म्यानचेस्टर सिटीको सामना गर्नेछ ।>>