मानव तस्करीको झल्को दिने घटनामा जोडिएर भारतको उत्तराखण्ड पुगेका ताप्लेजुङ फुङलिङका सोम लिम्बूको शव ताप्लेजुङ ल्याइँदै छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतम र प्रहरी निरीक्षक रोहितकुमार शर्मा तथा विवेक बस्नेतको पहलमा लिम्बूको शव पीडित परिवारको खर्चबिना ताप्लेजुङ ल्याउन लागिएकाे हाे । शव ल्याउने प्रक्रियामा सहयोग गर्न फुङलिङका यातायात व्यवसायी महेन्द्र भट्टराई नेपाल–भारत सीमा क्षेत्र पुगेका छन्। >
‘किन नेपाल’ संस्थाले सोमको शव ताप्लेजुङसम्म ल्याउन कानुनी प्रक्रिया र आर्थिक सहयोग उपलब्ध गराएको डिएसपी गौतमले जानकारी दिए। उनले भने, ‘आर्थिक अवस्था कमजोर भएको परिवारलाई सहयोग गर्न मैले जिल्ला प्रहरी कार्यालयबाट पहल गरेँ। “किन नेपाल” का नवीन जोशीले मेरो अनुरोध स्विकार्नुभयो।’>
उनका अनुसार शनिबार बेलुका सोमको शव उत्तराखण्डको रुद्रपुरबाट ताप्लेजुङतर्फ पठाइएकाे छ। ताप्लेजुङबाट सीमा क्षेत्र पुगेको टोलीले शव बुझेर ल्याउने प्रहरीले जानकारी दिएकाे छ। शव ल्याउन करिब डेढ लाख भारतीय रुपैयाँ खर्च हुने अनुमान गौतमकाे छ।>
कसरी पुगे सोम रुद्रपुर?
गत बुधबार बिहान दुई युवा (मृतकका भाइ विजय लिम्बू र फुङलिङ हाङदेवाका भाग्य लिम्बू) सोमको मृत्युको लिखित जानकारीसहित प्रहरी कार्यालय पुगेका थिए। उनीहरूका अनुसार भाग्यमार्फत विजय र विजयमार्फत सोम रुद्रपुर पुगेका थिए। भाग्य आफ्ना अर्का साथीमार्फत त्यहाँ पुगेका थिए। मासिक ६० हजार भारतीय रुपैयाँ कमाइ हुने, बिल काट्ने, कपडा प्याकिङ र कम्प्युटरमा काम गर्ने प्रलोभनमा उनीहरू त्यहाँ पुगेका थिए। भाग्य चैत २१ गते बुटबलबाट सीमा पार गरेर रामपुर हुँदै रुद्रपुर पुगेका थिए। विजय वैशाख ४ गते र सोम वैशाख ७ गते त्यहाँ पुगेका थिए।>
आकर्षक कमाइको प्रलोभनमा परेका युवाहरूले कुटपिट, दुर्व्यवहार र यातना सहनुपरेको बताए। विजय र भाग्यका अनुसार रुद्रपुरमा ‘ग्याल्बे कम्पनी’ भनिने स्थानमा कोठा भाडामा लिएर राखिन्छ। त्यहाँ पुग्ने बित्तिकै आधार कार्ड र रासन कार्ड बनाउन भन्दै प्रतिव्यक्ति ५०-६० हजार रुपैयाँ लिइन्छ। कम्पनीले प्रत्येक व्यक्तिलाई ५–७ जनाको समूह ल्याउन दबाब दिन्छ। म्यासेन्जरमा कुरा गरेर साथी बोलाएपछि थप सम्पर्क गर्न दिइँदैन। >
विजयले भने, ‘मैले दाजु बोलाएँ, पैसा जम्मा गर्न भनियो। मैले बुबा बिरामी भएको भन्दै भिडियो पठाएँ, अस्पतालको कार्ड देखाएँ। मलाई कुटपिट गरेर कोठाबाट निकालियो, र म भाग्न सफल भएँ।’ विजय जसोतसो नेपाल फर्किए। तर सोमलाई त्यहीँ छाडेर आए। केही समयपछि उनले दाजुको मृत्युको खबर पाए।>
प्रहरीका अनुसार सोमको मृत्युको कारण खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ। विजय र भाग्यका अनुसार रुद्रपुरमा करिब पाँच सय नेपाली यस्तै प्रलोभनमा परेर बसेका छन्। उनीहरू बेग्लाबेग्लै कोठामा थुनिन्छन्। खानामा पानी र थोरै भात दिइन्छ। कम्पनीका मालिकको नाम वीरेन्द्र शाही भएको र उनको घर धनगढीतिर भएको सुनेको उनीहरूले बताए। >
प्रहरीले ती व्यक्तिको पहिचान खोजिरहेको छ। भाग्यका अनुसार बिहान ‘ग्याल्बे जोस’ भन्दै मानिसहरूलाई चर्को स्वरमा कराउन लगाइन्छ। बोलाएको व्यक्तिको लुगा धुने जिम्मा पनि सम्बन्धित व्यक्तिकै हुन्छ। ‘केही दिनपछि मेसमा तिमीहरूको पालो आउँछ भन्थे,’ उनीहरूले भने। मानसिक र शारीरिक यातना खेपेको बताउँदै उनीहरूले यस्तो प्रलोभनमा नपर्न सुझाए। >
घटना गम्भीर : ताप्लेजुङ प्रहरी
विजयले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि ताप्लेजुङ प्रहरीले यो विषयलाई गम्भीरतापूर्वक लिएको छ। प्रहरी प्रवक्ता विवेक बस्नेतले माथिल्लो निकायमा जानकारी गराइसकेको र पीडितको भनाइका आधारमा अनुसन्धान अघि बढ्ने बताए। सोमको शव घरसम्म ल्याउन प्रहरीले सहजीकरण गरेको र त्यसपछि थप अनुसन्धान हुने उनले जनाए।>>