भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी सडक चाँडो मर्मत र केरुङ नाका सञ्चालन गरी व्यापारमा सहजीकरण गर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले आयोजना गरेको छलफलमा उनले बर्सातका समयमा अन्तरदेशीय कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्था र चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाबारे चर्चा गर्दै जतिसक्दो छिटो सडक मर्मतको काम गरिने बताएका हुन् ।>
यही असार २४ गते बिहान हिमताल विस्फोटका कारण रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएपछि पुल बग्दा केरुङ नाका अवरुद्ध भएको छ । ‘पुलसँगै रसुवागढी सडक निर्माणको काम पनि सम्पन्न गर्नुपर्छ । पुल बनेर बाटो बनेन भने नाकामा रोकिएका सामानहरू नेपाल ल्याउन सकिँदैन,’ मन्त्री दाहालले भने,‘बाढीका कारण रोकिएका सामानलाई कसरी नेपाल ल्याउने भनेर पनि हामीले प्रयास गरेका छौँ ।’>
>
उनले उत्तर–दक्षिण राजमार्ग निर्माणको काम पनि चाँडो सम्पन्न गरिने बताए । मन्त्री दाहालले वातावरणमैत्री सडक निर्माण गरिने र नयाँ सडक निर्माणको क्रममा सडक सुरक्षाको नीति लागू गरिने प्रतिबद्धता व्यक्त गरे । ‘बाढी, पहिरोजस्ता विपद्का समय र छिटो–छरितो यात्राका लागि सुरुङमार्ग उत्तम विकल्प हो, तर बजेट अभावका कारण यस्ता योजना कार्यान्वयनमा चुनौती छ,’– उनले भने ।>
समितिका सभापति दीपकबहादुर सिंहले दसैँ–तिहारजस्ता चाडपर्वलाई मध्यनजर गर्दै चीनसँग जोडिएका नाका चाँडो सञ्चालन गर्न आग्रह गरे । ‘चीनबाट लुगा–कपडाभित्रने भएकाले सस्तो पनि पर्छ । दसैँ–तिहारलाई महँगो नबनाउन पनि रोकिएका सामान नेपाल ल्याउने व्यवस्था चाँडो गर्नुपर्छ,’– उनले भने ।>
>
सांसद माधव सापकोटाले चाडपर्वको मुखमा चीनसँगै जोडिएका दुवै नाका बन्द रहेकाले बाटो नखोले चाडपर्व महँगो हुने बताए । सांसद प्रकाश ज्वालाले सडकको पहिरो छिटो व्यवस्थापन गरेर सञ्चालन ल्याउन आग्रह गरे ।>
बैठकमा सांसद निशा डाँगी, मैना कार्की, शक्तिबहादुर बस्नेत, गीता गुरुङ, बीना लामालगायतले अवरुद्ध सडक चाँडो सञ्चालनमा ल्याएर सहजता प्रदान गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए ।>>