जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा पछिल्लो स्थानीय तहको निर्वाचनयता २ वर्ष ९ महिनाको अवधिमा ८ जना प्रशासकीय अधिकृत फेरबदल भइसकेका छन् । कार्यभार सम्हालेको चार महिना, कोही ६ महिना त कोही तीन महिना पनि नटिक्दै फेरिएपछि उपमहानगरपालिकाको कामकाज नै सुस्त हुन पुगेको छ । >
‘हाकिम’ को अनावश्यक सरुवाले एकातर्फ उपमहानगरपालिकाको विकास निर्माणलगायत लिएका लक्ष्यहरू पूरा हुन सकेका छैनन् भने अर्कोतर्फ बजेट खर्चको अवस्था पनि निकै दयनीय बन्न पुगेको छ । >
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका रूपमा मनोज साह निर्वाचित भएपछि सातौं प्रशासकीय अधिकृतका रूपमा गत बुधबार सहसचिव डा. वीरेन्द्र मिश्रले कार्यभार सम्हाले । उनीभन्दा पहिले कार्यरत प्रशासकीय अधिकृत राजकुमार केसी करिब ६ महिनादेखि कार्यभार सम्हालेका थिए । केसीको कार्यकालमा उपमहानगरपालिकाबाट थुप्रै विकास निर्माणका कार्यहरूको सम्झौता भएर कार्यादेशसमेत दिइयो तर, चैत १२ गते केसीको सरुवा भयो । >
संघीय प्रशासन मन्त्रालयबाट मन्त्रिपरिषदको निर्णयअनुसार वीरेन्द्र मिश्रलाई जनकपुरधाम उपमहानगरपालिकाको प्रशासकीय अधिकृत तोकेर पठाइयो । मिश्र आफू अनुकूल नहुने देखेपछि नगरप्रमुख साहले उनलाई हाजिर नै हुन नदिने गरी विभिन्न समस्यासमेत खडा गरे । तर, उनको केही नचलेपछि मिश्रलाई उपमहानगरपालिकामा हाजिर गराइयो । तर, मिश्र कार्यालयमा हाजिर भएको १० दिन बितिसक्दासमेत नियमितबाहेक कुनै विकास निर्माण वा अन्य कार्यहरूलाई अगाडि बढाएनन् । उल्टै कार्यालयको आर्थिक तथा प्रशासनिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै आफ्नो जिम्मेवारी सुम्पे । उनले आर्थिक कारोबारसँग सम्बन्धित अख्तियारी शिक्षा शाखाका उपसचिव मेहीलाल यादवलाई दिएका हुन् । >
‘मेयरले योजना बनाएर दिने मात्रै हो त्यसलाई कार्यान्वयन गराउने काम त प्रशासकीय अधिकृतको हुन्छ तर, प्रशासकीय अधिकृतहरूले कामै गर्न नमान्दा समस्या खडा भएको छ,’ नगरप्रमुख साह भन्छन्, ‘जुन जोगी आए नि कानै चिरेको जस्तो अवस्था छ । यी कर्मचारीहरू प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुख संघीय सरकारका कर्मचारी हुन् । उनीहरू संघप्रति उत्तरदायी छन् । उनीहरूलाई नगरप्रमुखप्रति उत्तरदायी भई काम गर्न विधानतः भनिए पनि उनीहरू कुरा संघीय मन्त्रालयको मात्रै टेर्छन् । यसरी पटक–पटक हाकिम फेर्ने परिपाटीले स्थानीय तहको कामकाज नै प्रभावित भएको छ ।’ >
प्रमुख प्रशासकीय अधिकृतको अनपेक्षित सरुवाका कारण जनकपुरधाम उपमहानगरपालिकाको चालु आर्थिक वर्षको पुँजीगत खर्च हालसम्म १५ प्रतिशत पनि हुन सकेको छैन । कुल बजेट दुई अर्ब रहेको उपमहानगरपालिकाले चालु खर्चतर्फ २५ प्रतिशत रकम खर्चे पनि पुँजीगत खर्चको अवस्था निकै दयनीय छ । >
- ‘हाकिम’ को अनावश्यक सरुवाले एकातर्फ उपमहानगरपालिकाको विकास निर्माणलगायत लिएका लक्ष्यहरू पूरा हुन सकेका छैनन्।
- कुल बजेट दुई अर्ब रहेको जनकपुरधाम उपमहानगरपालिकाले चालु खर्चतर्फ २५ प्रतिशत रकम खर्चे पनि पुँजीगत खर्चको अवस्था निकै दयनीय छ।
- १० दिनपूर्व हाजिर भएका प्रशासकीय अधिकृत मिश्रले कार्यालयको आन्तरिक अवस्था र अघिल्ला हाकिमले कार्यादेश दिएका कामहरूमा समेत प्रक्रिया अघि बढाउन हस्ताक्षर गर्न नमान्दा उपमहानगरपालिकाको कामकाज नै ठप्प भएको हो ।
- प्रमुख प्रशासकीय अधिकृतहरू उपमहानगरपालिकामा नटिक्नु पछाडि मेयरको मनोमानी खर्चहरू र नियमविपरीतका कार्य गराउन गरिएका दबाबहरूसमेत कारक रहेको कर्मचारीहरू नै बताउँछन् । ‘नियमसंगत नदेखिएका ठाउँहरूमा समेत हस्ताक्षर गर्नुपर्ने, मेयरले भनेअनुसारले काम गर्नुपर्ने, अनावश्यक दबाबहरू सहनुपर्ने परिपाटीले गर्दा दिक्क भएर पनि प्रशासकीय अधिकृतहरू बस्न मान्दैनन्,’ एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘अख्तियारको दुरुपयोग गर्दा फस्ने कर्मचारीहरू नै हुन्छन् । जनप्रतिनिधिले त पल्ला छाडिहाल्छ । यस्तो अवस्थामा बिनाकामको तनाव किन लिन भन्दै बढी दबाब प्रभाव हुने स्थानीय तहहरूमा प्रशासकीय अधिकृतहरू लामो समय टिक्दैनन् ।’
- जनकपुरधाम उपमहानगरपालिकामा पछिल्लो २ वर्ष ९ महिनामा फेरिएका प्रशासकीय अधिकृतहरूमा प्रद्युम्न कार्की, रत्नेश शशि, सुमन कार्की, टेकराज पन्थी, सत्यनारायण साह, राजकुमार केसी र वीरेन्द्र मिश्र हुन् । यस अवधिमा दुई पटक निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी मिहिलाल यादवले पाइसकेका छन् ।