विराटनगर । कोशी प्रदेशसभाको रोस्ट्रममा उभिएर आइतबार पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आफूलाई ‘निर्दोष’ र ‘राजनीतिक षड्यन्त्रको सिकार’ बनाइएको बताएका छन् । तीन हप्ता अगाडि मन्त्रिमण्डलको सचिवालयको नाममा एक अनाधिकृत व्यक्तिले कर्मचारीलाई घुस माग्दै क्यूआर कोड पठाइएको समाचार रातोपाटीले सार्वजनिक गरेको थियो । >
त्यसपछि मन्त्री मण्डलको राजीनामा माग्दै प्रदेशसभामा सांसदहरूले आवाज उठाएका थिए भने कैयौँ सञ्चारमाध्यममा समाचार बनेका थिए । ढिलोगरी त्यसको जवाफ दिने क्रममा मन्त्रिमण्डलले आइतबार प्रदेशसभामा जवाफ दिँदै त्यस घटनाको ढाकछोपको प्रयास गरेका हुन् । जबकि तथ्य र प्रमाणहरूले उनी शंकाको घेरामा रहेको देखाउँछ । >
उनले क्यूआर कोड पठाउने व्यक्तिलाई ‘अनाधिकृत व्यक्ति’ भन्दै अनुसन्धानको कठघरामा उभ्याउन माग गरे । तर, ती व्यक्ति अरू कोही नभएर उनकै संरक्षणमा रहेका अमृत मेहता हुन् । मेहता मन्त्रिमण्डलको सचिवालयमा हर्ताकर्ता थिए । उनले मेहतालाई ‘खेताला स्वकीय सचिव’ राखेको समाचार यसअघि सार्वजनिक भइसकेको छ । >
उनले आफ्ना स्वकीय सचिवमा सन्तोष मेहतालाई नियुक्त गरेको कागजी प्रक्रिया पूरा गरे पनि वास्तविक रूपमा काम भने अमृत मेहताले गरिरहेका थिए । स्वकीय सचिव हुन नायब सुब्बा सरहको योग्यता आवश्यक पर्छ । अमृतको योग्यता नपुगेका कारण दाजु सन्तोषको नाममा नियुक्ति दिइएको हो । >
मेहताले कर्मचारीहरूलाई पठाइएको क्यूआर कोड प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आफूलाई पीडितका रूपमा प्रस्तुत गर्ने प्रयास मन्त्रीको थियो । उनले नबिन के भट्टराईको गीत ‘खाँदै नखाएको विषले जिउँदै मार्यो’ को अंश सुनाउँदै आफूमाथि अन्याय भएको बताए । >
उनको यो भावनात्मक अभिनय सार्वजनिक तथ्य र आफ्नै विगतका अभिव्यक्तिहरूसँग नराम्ररी बाझिएको छ । जसले यो प्रकरणलाई थप रहस्यमय बनाएको छ । मन्त्री मण्डलले संसदमा भने, ‘क्यूआर कोडमा उल्लेखित व्यक्ति मेरो सचिवालयको सदस्य होइनन् । निजलाई के कति कारणले क्यूआर पठाइएको हो, कानुनी दायरामा झिकाई अनुसन्धान गर्न अनुरोध गर्दछु ।’>
एनएमबी बैंकको खातामा अमृत मेहताको नाममा जारी भएको क्यूआर कोड नै कर्मचारीको ह्वाट्सएपमा पठाइएको थियो । यिनै अमृत मन्त्री मण्डलका आफन्त पनि हुन् । जसलाई मन्त्रीले कानुनविपरीत आफ्नो सचिवालयमा ‘सहयोगी’का रूपमा नियुक्त गरेका थिए । >
मन्त्री मण्डलले नै यसअघि अमृत मेहता आफ्नो सचिवालयमा सहयोग गर्न बसेको स्वीकार गरिसकेका थिए । जुन अडियो अहिले पनि सुरक्षित छ । मन्त्री मण्डलले संसद्मा भने आफ्नै सहयोगीलाई ‘अनाधिकृत’ र ‘अपरिचित’ भनेर अनुसन्धानको दायरामा ल्याए सहयोग गर्ने बताए । आफ्नै संरक्षणमा रहेको व्यक्तिलाई अनाधिकृत भनेर पन्छिन खोज्नु र उनीमाथि अनुसन्धानको माग गरेर उन्मुक्ति पाउन खोज्नुले नै मन्त्री मण्डलले घटनाको ढाकछोप गरेको बुझिन्छ । >
होइन भने अवैध रूपमा अमृत महतोलाई सचिवालयमा राखेर काममा लगाउने व्यक्ति को हो ? आफ्नो पद र शक्तिको दुरुपयोग गरी रकम असुल्ने प्रयास गर्दा संरक्षण दिने को हो ? विवाद बाहिरिएपछि पनि मेहतालाई सचिवालयबाट नहटाउने को हो ? यी प्रश्न उब्जिन्छन् । >
मन्त्री मण्डलले आफ्नो बचाउका लागि आफूले प्रयोग गर्ने दुई मोबाइल नम्बर सार्वजनिक गर्दै आफूले मोबाइल बैंकिङ वा क्यूआर कोडको सुविधा नै नलिएको तर्क पेस गरे । र मूल विषयलाई उनले विषयान्तर गर्ने प्रयास गरे । यस प्रकरणमा मन्त्रीले व्यक्तिगत रूपमा क्यूआर कोड चलाए वा चलाएनन् भन्ने छैन । उनको सचिवालय, उनको नाम र उनको शक्तिको आडमा उनीनिकट व्यक्तिले आर्थिक चलखेल गर्न खोजे वा खोजेनन् भन्ने हो । >
आफ्नै सचिवालयमा राखिएको व्यक्तिको बैंक खाताको क्यूआर कोड कर्मचारीसम्म पुग्दा ‘मलाई थाहा छैन’ भनेर एउटा जिम्मेवार मन्त्री पन्छिन खाजे । यहाँ अरू प्रश्न तेर्सिन्छ । >
मन्त्री मण्डलले झुटको सहारा लिइरहँदा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको भूमिका पनि उत्तिकै शंकास्पद छ । >
सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले यो गम्भीर विषयमा ‘अध्ययन गर्न समय लाग्ने’ अभिव्यक्ति दिएका थिए । तर, मुख्यमन्त्री कार्की घटना र विषयको गाम्भीर्यता थाहा नपाएको जस्तै गरेर चुप बसेका छन् ।
भ्रष्टाचारजस्तो संगीन आरोपमा तत्काल छानबिन समिति गठन गरेर मन्त्रीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा बहाना बनाएर समय घर्काउनुले यो प्रकरणलाई सामसुम पार्ने सिंगो सरकारको नियत देखिन्छ ।
मन्त्री मण्डलले संसद्मा दिएको जवाफले उनको बचाउ होइन, बरु उनको नैतिक र राजनीतिक स्खलनलाई प्रमाणित गरेको देखिन्छ । यो प्रकरण अमृत मेहता वा एउटा क्यूआर कोडमा मात्र सीमित हुनुहुँदैन भन्ने छ । यो सिङ्गो प्रदेश सरकारको इमानदारिता, मन्त्रीको नैतिकताको कुरा हो । साँच्चै नै छानबिन हुने हो भने अमृत मेहताबाट होइन, उनलाई संरक्षण दिने मन्त्रिमण्डलबाटै सुरु हुनुपर्छ । >
यता विपक्षी दल माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले भने मन्त्री मण्डलले दिएको स्पष्टीकरण स्पष्टीकरण चित्तबुझ्दो नभएको तर्क गरेका छन् । ‘सुरुमा उहाँले सचिवालयमा राखेको व्यक्तिबारे सहयोगी भन्नुहुन्थ्यो, उहाँ स्वयंमले त्यो व्यक्तिलाई आजचाहिँ मसँग सम्बन्धित नै नभएको भनेर भन्नुभयो,’ शेर्पाले भने, ‘यसकारण यसलाई विश्वास गर्न सकिने अवस्था छैन ।’>
यो गम्भीर विषय भएकाले राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने उनले सुझाए । ‘प्रदेश सरकारले पनि यो विषयमा छानबिन गर्नुपर्ने गरेको छैन, सम्बद्ध निकायलाई यस विषयमा छानबिन गर्न आह्वान गर्ने काम पनि गरेको छैन,’ उनले थपे, ‘त्यसकारण यो विषय गैरजिम्मेवार देखिएको छ ।’>
यस घटनाले सरकार सुशासनप्रति जिम्मेवार नदेखाएको पनि उनले तर्क गरे । ‘अहिले पनि उहाँको छोराले समाचार लेख्नेहरूलाई धाकधम्की दिइरहेको अडियो पनि आएको छ । त्यहाँ नक्कली नोट कारोबारीलाई जोगाएको विषय पनि उल्लेख छ,’ उनले भने, ‘त्यसकारण उहाँको विषयमा अनुसन्धान गर्नुपर्छ भन्ने लाग्छ । उहाँले निर्दोष छु भनेर मात्रै छुट पाउने अवस्था छैन ।’ >
>>