नगरकोटबाट रणनीति बुन्दै पूर्वराजा, राजावादी नेतासँग 'वान टु वान' छलफल

Jasus Khabar 3925+ समाचार ( )
२६ वैशाख २०८२

अन्तिम राजा ज्ञानेन्द्र शाह यतिबेला नगरकोटमा बसिरहेका छन् । वैवाहिक वर्षगाँठको अवसर पारेर नगरकोट पुगेका शाहले राजनीतिक भेटघाटलाई पनि तीव्र बनाएका छन् । नगरकोटको सोल्टी वेस्ट इन्ड रिसोर्टमा बसिरहेका शाहले एक सातादेखि राजतन्त्रपक्षधर नेताहरूसँग भेट गरेका छन् । ‘वान टु वान’ भेट गरेर शाहले पछिल्लो परिस्थितिबारे छलफल गरेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका अलावा राजतन्त्रपक्षधर आन्दोलनमा लागेका केशरबहादुर विष्टलगायत नेताहरूसँग उनले छलफल गरेका हुन् ।

स्रोतका अनुसार छलफलमा राजतन्त्रको पक्षमा पछिल्ला दिनमा बनेको परिस्थितिबारे शाहले जान्न चाहेका छन् । अनि, राजतन्त्रको पक्षमा अन्तर्राष्ट्रिय परिस्थिति कस्तो छ भनेर पनि जान्न खोजेको देखिन्छ । अन्तिम राजा शाहले राप्रपा र राप्रपा नेपालका नेताहरूलाई किन एक्लाएक्लै हिँडेको भनेर पनि सोधेका थिए । त्यसको प्रस्ट जवाफ भने नेताहरूले दिएका छैनन् ।  

एकसातादेखि नगरकोटमा बसिरहेका शाहको बाक्लो भेटकै बीचमा २५ वैशाखमा राजतन्त्रपक्षधर विभिन्न समूहहरू संगठित भएका थिए । नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुनस्थापनाको पक्षमा रहेको जनआन्दोलन परिचालन समितिसँगै बसेर थापा र लिङ्देनले पहिलोपटक आन्दोलनको घोषणा गरेका थिए । 

अन्तिम राजा शाहले नगरकोटमा बसेर युवापुस्ताका केही नेताहरूसँग पनि छलफल गरेका छन् । स्रोतका अनुसार शरदराज पाठक, राजेन्द्र गुरुङ, प्रेम बलायर, निरञ्जन थापा, निराजन बमलगायतसँग पनि उनले छलफल  गरेका छन् । ती सबै छलफलमा राजसंस्था पुनर्स्थापनाका लागि आन्तरिक माहौल सकारात्मक बन्दै गएको र अन्तर्राष्ट्रिय माहौलको विषयमा पनि चर्चा भएको छ ।

साथै, आन्दोलन एकजुट भएर गर्न शाहले नेताहरूलाई सुझाव दिएको शाहनिकट स्रोतले जानकारी दिएको छ । शाह केही दिनमा काठमाडौं फर्किने तयारी गरेका छन् । राजतन्त्रपक्षधरहरूले उक्त भेटपछि नै १५ जेठबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।

प्रतिक्रिया