पछिल्ला वर्षहरूमा हाम्रो समाजमा सम्बन्ध विच्छेदका घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन्। प्रेम, विवाह र सहजीवनका थुप्रै उदाहरणहरू आज अधुरो बन्दै गएका छन्। भावनात्मक विच्छेदले पारिवारिक र सामाजिक संरचनामा गहिरो असर पारिरहेको छ। एकआपसमा विश्वास, सहमति र समझदारीको कमीले गर्दा वैवाहिक सम्बन्ध टुट्दै जानु दुःखद मात्र होइन, गम्भीर चिन्ताको विषयसमेत बनिसकेको छ।>
सम्बन्ध विच्छेद कुनै समाधान होइन भन्ने कुरा बुझ्न आवश्यक छ। सम्बन्ध विच्छेदपछि हुने मानसिक आघात, बालबालिकामा पर्ने नकारात्मक प्रभाव र समाजमा देखिने विखण्डनले दीर्घकालीन असर पार्न सक्छ। विगतमा सहनशीलता, समर्पण र पारिवारिक एकताको भावना बलियो थियो। तर, आधुनिक जीवनशैली, आर्थिक चाप, आपसी संवादको अभाव र सामाजिक सञ्जालको दुरुपयोगले सम्बन्धहरू कमजोर बनाइरहेको देखिन्छ।>
>
सम्बन्ध जोगाउन एक अर्कालाई बुझ्न, समय दिन, विश्वास कायम राख्न र समस्या समाधानका लागि संवाद गर्ने संस्कार विकास गर्नु अपरिहार्य छ। असहिष्णुता र घमण्डका कारण सम्बन्ध विच्छेदको बाटो रोज्नु सधैं उचित हुँदैन। स-साना झगडालाई समेत ठूलो बनाउने प्रवृत्तिले घरपरिवार भत्काइरहेको छ।>
>
अर्को तर्फ, सम्बन्ध विच्छेद भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण पनि बदलिनु आवश्यक छ। उनीहरूलाई मानसिक परामर्श, कानुनी सहयोग र सामाजिक पुनर्स्थापनाका कार्यक्रमहरू सञ्चालन गर्न राज्य र स्थानीय निकायको भूमिका बढाउनु पर्छ। साथै, विवाहपूर्व तथा वैवाहिक जीवनका चुनौती र दायित्वबारे सचेतना दिने कार्यक्रमहरू सञ्चालन गर्नु आजको आवश्यकता हो।>
>
सम्बन्ध विच्छेद न्यूनीकरणका लागि परिवार, विद्यालय, मिडिया, धर्मगुरु र सामाजिक संस्थाहरूले मिलेर दीर्घकालीन सचेतना अभियान सञ्चालन गर्नुपर्छ। कुनैपनि सम्बन्धमा समस्या आउन सक्छ, तर सहमति, समर्पण र संवादको माध्यमबाट समस्या समाधान गर्ने संस्कृति स्थापना गर्नु आजको समाजको प्रमुख आवश्यकता हो।>
>
सम्बन्ध जोगाउने प्रयास गरौं, समझदारीको पुल बाँधौं। नत्र सम्बन्ध विच्छेदका घटनाले समाजमा झन ठूलो मानसिक र सामाजिक समस्याको रुप लिनेछ।>
>