पशुपतिमा हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
२९ श्रावण २०८२

पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेको अवस्थामा शवबाट हड्डी निकालेर बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौँको कपन बसोबास गर्दै आएका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाटमा बस्दै आएका ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ठाकुर नै हड्डी र खरानी खरिद गर्ने मुख्य व्यक्ति हुन् भने यादवले उनलाई सहयोग गरेका थिए।

गत साउन २३ गते बनेपा नगरपालिका–९ घर भई कोटेश्वर नरेफाँटमा बसोबास गर्ने ६५ वर्षीय राम शाहीको शव पशुपति आर्यघाटको चिता नम्बर २ मा जलाइरहेको बेला हड्डी निकालिएको खुलेको थियो।

पशुपति क्षेत्र विकास कोष अन्तर्गत आर्यघाट सेवा केन्द्रमा खटिएका जीवनाथ ढकाल (गणेशप्रसाद ढकाल) र विनायक मैनालीले शव जलिरहेको अवस्थामा हड्डीसहित खरानी संकलन गरेका थिए। संकलन गरिएको हड्डीलाई एनसेल कपुरको बट्टामा राखी बिक्री गरिएको आरोप लागेको छ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले साउन २६ गते दुबैजनालाई पक्राउ गरी उनीहरूबाट हड्डीको धुलो र खरानीजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा जलिरहेको शवबाटै हड्डी निकालिएको पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार