गण्डकी प्रदेशमा बजेटको तयारी

Jasus Khabar 3925+ समाचार ( )
१७ वैशाख २०८२

गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माणका लागि तयारी थालेको छ । 

बजेट तर्जुमा र समन्वयका विषयमा स्थानीय तहहरुसँग पूर्वतयारी छलफल भइरहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिए । नवलपुर र तनहुँमा बजेट पूर्वतयारी छलफल भइसकेको उनको भनाइ छ । 

‘निजी क्षेत्रका उद्योगी, व्यवसायी र अर्थ विज्ञसँग पनि बजेट निर्माणबारे छलफल भइरहेको छ’, महाशाखा प्रमुख रिज्यालले भने, ‘आगामी जेठ १ देखि ११ गतेसम्म विषयगत मन्त्रालयसँग छलफल गर्दैछौँ ।’

 बजेट निर्माणमा सम्बन्धित निकाय र सरोकार भएका पक्षहरूको अपेक्षा र रायसुझाव लिइएको उनले बताए। 

छलफलका क्रममा स्थानीय तहहरूले बजेट समावेशी र प्रभावकारी बनाउन सुझाव दिएको उनको भनाइ छ । 

‘बजेट निर्माणको प्रक्रियालाई सहभागितमूलक बनाउन पूर्वतयारी छलफलले मन्त्रालयलाई महत्वपूर्ण सहयोग पुगेको छ’, उनले भने।

चालु आवको तुलनामा आगामी आवको बजेटको आकार घट्ने देखिएको उनको भनाइ छ । समानीकरण अनुदानमा भएको कटौती र राजश्व खुम्चँदा बजेट घट्ने भएको हो । 

चालु आवमा प्रदेश सरकारले ३२ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । आगामी आवका लागि २९ अर्ब ५० करोड बराबरको बजेट ‘सिलिङ’ तोकिएको महाशाखा प्रमुख रिज्यालले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार