राष्ट्रिय युवा परिषद्‍को आयोजनामा युवा वैज्ञानिक सम्मेलन सुरु

Jasus Khabar 3925+ समाचार ( )
४ आषाढ २०८२

नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद्‍द्वारा आयोजित एकदिने युवा वैज्ञानिक सम्मेलन सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) परिसरमा आयोजना भएको सम्मेलनमा वैज्ञानिक खोज र अनुसन्धानमा रुचि राख्ने २५० भन्दा  बढी युवा सहभागी छन् । सम्मेलनको उद्घाटन गर्दै  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको निर्णायक भूमिका रहने बताए । दाहालले भने, 'विश्वमा विकसित राष्ट्रहरूको विकासको मूल आधार नै समयसापेक्ष प्रविधिको विकास र सही अवलम्बन हो ।' 

अध्यक्ष दाहालले राष्ट्रको  सर्वाङ्गीण विकासको गतिलाई तीव्रता दिन, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उपलब्ध ज्ञान, विज्ञान, र प्रविधिको समुचित उपयोग गर्नुपर्नेमा जोड दिए । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्लेले विज्ञानका नविनतम् आविष्कारलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताए । वाग्लेले विज्ञान तथा प्रविधिले उपलब्धिसँगै चुनौती पनि थपेकोमा  चिन्ता व्यक्त गरे । वाग्लेले नयाँ पुस्ताले उपलब्धिबाट फाइदा लिँदै जोखिमबाट बच्नुपर्ने जिकिर गरे । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा.डा.दिलिप सुब्बाले वैज्ञानिक खोज, अनुसन्धान र आविष्कारका लागि राज्यले पर्याप्त बजेट ल्याउन नसकेको बताए । सुब्वाले विज्ञान र प्रविधिको विकासबिना देशको विकास असम्भव रहेको बताए । 

राष्ट्रिय युवा परिषद्‍द्वारा  वैज्ञानिक खोज, अध्ययन, सर्वेक्षण तथा अनुसन्धान कार्यमा युवालाई प्रोत्साहित गर्न र युवा वैज्ञानिकहरूमा उत्साहको सञ्चार गर्न हरेक वर्ष यस्ता कार्यक्रमहरू हुँदै आएको कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए ।

विज्ञान तथा प्रविधि क्षेत्रमा संलग्न नवोदित् युवाहरूलाई प्रोत्साहन गर्ने आपसमा अनुभव आदानप्रदान गर्ने, विषय विज्ञवाट विभिन्न विधामा प्रस्तुति गर्ने, युवाहरूले निर्माण तथा आविष्कार गरेका सूचना प्रविधि लगायतका विषयवस्तु तथा सेवाहरूको प्रदर्शन गर्ने लगायतका बहुआयामिक उद्देश्यले सम्मेलन आयोजना गरिएको बस्नेतले जनाए । 

सम्मेलनमा रोबोटिक्स्, डेटा, एआई, ड्रोनलगायतका तीव्र रूपमा विकास भइरहेका नवीन खोज र प्रविधिका विषयमा गहिराइमा पुगेर छलफल तथा अन्तर्क्रिया गरिने सहआयोजक रोवटिक्स् एसोसिएसन नेपालका अध्यक्ष विकास गुरुङले जानकारी दिए । गुरुङले सम्मेलनमा विभिन्न फरक फरक विषयमा प्यानल छलफल, प्रस्तुतिकरण र अन्तर्क्रिया हुने बताए ।


प्रतिक्रिया