अजमल अन्सारी>
सुनसरी। हरिनगर गाउँपालिकाले कक्षा १ देखि ८ सम्मका लागि तयार पारिएको ‘हाम्रो हरिनगर/मेरो हरिनगर’ विषयक पाठ्यपुस्तकको पठनपाठन स्थगित गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ ।>
गाउँपालिकाले साउन ९ गते जारी गरेको सूचनामा शैक्षिक सत्र २०८० देखि लागू गरिएको उक्त विषयको पाठ्यपुस्तक शैक्षिक सत्र २०८२ लागि छापिएको उक्त पुस्तकमा विभिन्न धर्म, संस्कृति, परम्परा तथा विषयवस्तुहरूप्रति त्रुटि भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।>
>
पुस्तकको सामग्रीप्रति विभिन्न धार्मिक समुदायहरूबाट गम्भीर आपत्ति आइपरेपछि गाउँपालिकाले हाललाई सम्पूर्ण विद्यालयहरूमा उक्त पुस्तकको पठनपाठन स्थगन गर्न निर्देशन दिएको हो । त्रुटि सच्याउने कार्य भईरहेको जनाउँदै पाठ्यक्रम सच्याएपछि मात्र प्रयोगमा ल्याउन सकिने जानकारी दिइएको छ ।>
>
गाउँपालिका अध्यक्ष गफार अन्सारी मियाँद्वारा हस्ताक्षरित सूचनामा त्रुटिपूर्ण सामग्रीका कारण शिक्षण संस्थामा असहज स्थिति सिर्जना हुन नदिन समस्त धर्मावलम्बी, अभिभावक, शिक्षक र विद्यालय परिवारमा संयमित भई सहयोग गर्न आग्रह गरिएको छ ।>
>
गाउँपालिकाका अनुसार छपाइको क्रममा भएको प्राविधिक तथा मुद्रण सम्बन्धी त्रुटीको समुचित परिमार्जन भइसकेपछि मात्र सो पाठ्यपुस्तक पुनः प्रयोगमा ल्याइनेछ । उक्त पाठ्यपुस्तकको परिमार्जन सम्पन्न नभएसम्मका लागि सम्पूर्ण विद्यालयलाई सो विषयको पठनपाठन स्थगन गर्न सूचित गरिएको छ ।>
>
पाठ्यपुस्तकमा भएका त्रुटीका कारण धार्मिक सम्प्रदाय, बौद्धिक वर्ग, अभिभावक, शिक्षक तथा विद्यालय परिवारमा पर्न गएको असरप्रति हरिनगर गाउँपालिका परिवारले दु:ख प्रकट गर्दै क्षमायाचना पनि गरेको छ ।>
>
विशेषगरी, धार्मिक समुदाय, बौद्धिष्टिक वाणी तथा विषयवस्तुहरूप्रति गरिएको प्रस्तुति ‘धार्मिक समावेशिता र सामाजिक सद्भावविरुद्ध’ रहेको भन्दै स्थानीयस्तरमा बिरोध भइरहेको छ ।>
>
गाउँपालिका अध्यक्ष गफार अन्सारी मियाँद्वारा हस्ताक्षरित सूचना>
>
>