मोरङमा एकजना थुनुवाको मृत्यु भएको छ। अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेका थुनुवाको मृत्यु भएको हो । झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार श्रेष्ठलाई अनुसार अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा राखिएको थियो । उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा बिहान ११:३० बजेतिर मृत्यु भएको जोशीले बताए । >
प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन जेठ १५ गते म्याद थप गरेर श्रेष्ठलाई हिरासतमा राखी अनुसन्धानको थप प्रक्रिया अघि बढाएको थियो । डीएसपी जोशीका अनुसार एक्कासी ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहान ९:२० बजेतिर कोशी अस्पताल लगिएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । हिरासतमै रहेका बेला बारम्बार बिरामी पर्ने गरेपछि यसअघि पनि प्रहरीले उनलाई उपचारका लागि अस्पताल लगेको थियो । >
प्रहरीका अनुसार लागुऔषध सेवनकर्तासमेत रहेका श्रेष्ठ लामो समयदेखि परिवारको सम्पर्कमा नरहेको पत्ता लागेको छ । उनी अपराधिक पृष्ठभूमिका व्यक्तिसमेत हुन् । डीएसपी जोशीका अनुसार श्रेष्ठविरुद्ध यसअघि विभिन्न प्रहरी कार्यालयबाट ४ पटक मुद्दा चलिसकेको रेकर्ड छ । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी,झापाको इलाका प्रहरी कार्यालय दमक, मोरङको इलाका प्रहरी कार्यालय पथरी र जिल्ला प्रहरी कार्यालय मोरङबाट उनीविरुद्ध यसअघि मुद्दा चलिसकेको थियो । >
>
यसअघि ३ पटक लागुऔषध ऐन र १ पटक अभद्र व्यवहारअन्तर्गतको मुद्दा चलेको जोशीले बताए । उनले भने,‘यसअघि ४ पटक मुद्दा चलिरहेको रहेछ । अहिले पाँचौं पटक मुद्दा चलाउन अनुसन्धान जारी रहेका बेला बिरामी परेर अस्पताल भर्ना गरेर उपचार जारी रहेका बेला श्रेष्ठको मृत्यु भयो ।’ >
पछिल्लो पटक विराटनगरमै साइकल चोरी गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । साइकल चोरी गर्न खोजेको देखी साइकलका धनी पुग्दा हातपात र दुव्र्यवहार गरेको भनेर किटानी जाहेरी परेपछि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको प्रहरीको भनाइ छ । शवलाई कोशी अस्पतालमै राखिएको छ । मृतकका आफन्तलाई खबर भइसकेको र उनीहरु आइसकेपछि थप प्रक्रिया अघि बढ्ने जानकारी डीएसपी जोशीले दिए । >
>>>>>