केही थान नेतृत्वकर्ता वा केही हुल गुट, उपगुटको स्वार्थमा नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मर्न दिनुहुन्न ।>>
झन्डै एक शताब्दीको उकालो चढ्दै गरेको नेपाली कांग्रेस आफैंमा उन्नत लोकतन्त्रको एक विराट ‘फाँट’ हो । राजनीतिका बगरमा असरल्ल लोकतन्त्र र नागरिक अधिकारलाई त्यसको मूलबाटोमा ल्याउन कांग्रेसले जुन खालको ऐतिहासिक संघर्षका नेतृत्व गरेको छ, त्यो लोकतन्त्रको एउटा अद्भुत लडाइँ थियो । जो आफैंमा एउटा सिंगो इतिहासको दस्तावेज पनि हो । त्यसैले आज पनि नेपाली कांग्रेसभित्र लोकतन्त्रको उत्तिकै बखान हुन्छ, जहाँबाट यसको उत्पत्ति भएको थियो ।>
हालैमात्र कांग्रेसको केन्द्रीय समिति बैठक सकिएको छ । यो भनेको पार्टीको १५औं महाधिवेशनको वर्ष पनि हो । नेतृत्वको इच्छाशक्तिमा कुनै तलमाथि नभए वा त्यस्तो कुनै बहानाबाजी नभएमा यही मंसिरमा १५औं महाधिवेशन हुनैपर्छ भन्नेमा दसौं लाख कार्यकर्ताको मतैक्य फेरिएको छैन । तर नेतृत्वले जुन प्रकारको छलछाम गर्न खोजिरहेको छ, त्यसलाई हेर्दा महाधिवेशन सर्ने हो कि डरले पनि यी लाखौं लोकतान्त्रिक मनलाई त्रसित पारेको छ । खै र, यो नेतृत्वमाथि प्रश्न हो । आशा गरौं, दसौं लाख कार्यकर्ताको मन वर्तमान नेतृत्वले भाँचिदिने पक्कै छैन ।>
सन्दर्भ हो, नेपाली कांग्रेसको केन्द्रीय बैठकको । १४औं महाधिवेशनबाट जब नयाँ नेतृत्व चुनिएर आयो अनि पहिलो केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गरियो । यो एउटा नयाँ प्रयोग थियो । तर त्यसलाई त्यसपछिका दिनमा फेरि बन्द गरियो । कांग्रेस देशको राष्ट्रियमात्रै होइन, पहिलो राजनीतिक दल पनि हो । सांसदको संख्याको हिसाबले जुनसुकै स्थान होस्, कांग्रेस एक ऐतिहासिक राजनीतिक पार्टी हो । देश, जनता र राष्ट्रियताप्रति गर्भ सिद्धान्तमै आफ्नो जिम्मेवारी बोकेर जन्मिएको पार्टी हो । लोकतन्त्रको असली पहरेदारमात्रै होइन, त्यसको मर्मविपरीत कुनै पनि सम्झौता नगर्ने एकमात्रै जिम्मेवार राजनीतिक दल हो कांग्रेस । दसौं लाख कार्यकर्तामार्फत करोडौं नेपालीको भावना जोडिएको पार्टी पनि हो यो । त्यसैले यो पार्टीभित्र के कस्ता छलफल हुन्छन्, को कति जिम्मेवार छ र आफ्नो लागिमात्रै होइन, पदका लागि मात्रै होइन जनता र राष्ट्रका लागि कुन चाहिँ नेताले कस्तो चिन्तन वा भावना व्यक्त गर्छन् भन्ने कुरा आमनागरिकले प्रत्यक्ष सुन्न, देख्न र महसुस गर्न सक्नुपर्छ । एउटा जिम्मेवार अनि लोकतान्त्रिक पार्टी भएका नाताले जनतासँग त्यत्ति अधिकार चाहिँ रहन्छ । त्यसको सम्मान गर्नुपर्छ ।>
केही समयअघि म आफैंले ‘लोकतन्त्रमाथि पर्दा’ शीर्षकमा आलेख लेखेको थिएँ । त्यो कांग्रेससँगै सम्बन्धित थियो । त्यसमा कांग्रेसको केन्द्रीय समितिको बैठकभित्र पत्रकारलाई पनि सामेल गराउनुपर्छ भनेको थिएँ । त्यो किनभने राष्ट्रियस्तरको राजनीतिक दलभित्र के, कस्ता छलफल हुन्छन् भन्ने कुरा आमजनताले थाहा पाउनुपर्छ भन्ने मान्यता मेरो थियो, छ र रहिरहनेछ । त्यो बेला अहिलेको जस्तो सामाजिक सञ्जाल थिएन । त्यसैले त्यो बेला प्रेसलाई प्रवेश दिनुपर्छ भन्ने मान्यता राख्थें । आज युग ‘एआई’को दुनियाँमा प्रवेश गरिसकेको छ । आजको नयाँ पुस्तालाई कसरी कांग्रेसको इतिहाससँग जोड्ने र भविष्यको यात्रा तय गर्ने ? भन्ने बहस चलिरहेका बेला हामीले सामाजिक सञ्जाल र नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई लत्याउँदै जानु भनेको फेरि उही पुरानो युगमा फर्किनु हो ।>
अर्को कुरा, मैले किन त्यसो भनेको थिएँ भने नेताहरूमा अनेकखाले प्रवृत्ति देखिन्छ । बैठकभित्र पस्दै गर्दा पत्रकारले तेस्र्याएको माइकअघि एउटा कुरा बोल्ने, भित्र बैठकमा अर्कै कुरा बोल्ने अनि फेरि बैठकबाट बाहिरिएर उसका कुरा सुन्दा झन् अर्कै भइसकेको हुन्छ । एउटा भन्ने, अर्कै भन्ने अनि अझ अर्कै गर्ने नेताहरूको सनातन प्रवृत्ति परिवर्तन हुनुपर्छ भन्ने मान्यताका साथ पनि मैले त्यसो भनेको हुँ । आजका सन्दर्भमा पनि यो उत्तिकै सान्दर्भिक छ र भविष्यका लागि त अनिवार्य नै हुनेछ । अब युग यस्तो आइसकेको छ कि हामीले जतिसुकै लुकाउन खोजे पनि, जतिसुकै छलबाटो हिँड्न खोजे पनि कुनै न कुनै बेला, कहीँ न कतै जसरी भए पनि त्यो कुरा बाहिर आएरै छोड्न । यो जमानाले नै कसैलाई केही कुरा लुकाउन वा लुक्न छुट दिएको छैन ।>
जसरी आज सामाजिक सञ्जालमा पोखिने अनि उच्छृंखलाको सिलसिला झाँगिँदै गएको छ । यो आफैंमा एक चुनौतीपूर्ण भविष्यको निम्तो पनि हो । व्यक्तिगतमात्रै होइन, गाली, घृणा र असहिष्णु संस्कार जुन प्रकारले बढ्दै छ, भोलिको नेतृत्वमा विकसित र स्थापित हुने प्रवृत्ति पनि त्यही नै हो । त्यसैले यसको प्रयोग सदुपयोग र दुरुपयोगका रूपमा पहिचान हुनुपर्छ । यो सन्दर्भ यहाँ किन जोड्न खोजिएको हो भने हालैमात्र कांग्रेसको केन्द्रीय बैठकमा हामीले देख्यौं कि वरिष्ठ नेतादेखि केन्द्रीय सदस्यहरूसम्म नेतृत्वका अघि निकै पोखिएर आफ्नो कुरा राखे । निकै मन माझामाझ भयो । त्यसलाई नेतृत्वले कुन रूपमा लियो वा लिएन, त्यो उसको कुरा हो । हामीले भन्नमात्रै के खोजेका हौं भने यो संस्कारलाई बचाइराख्नुपर्छ । तर नेतृत्वले त्यसलाई तत्कालै सम्बोधन गर्न सक्नुपर्छ । यसले गर्दा सार्वजनिकरूपमा जुनखालका घृणा र द्वेष फैलाउने प्रवृत्ति बढिरहेको छ, त्यसलाई रोक्न सकिन्छ ।>
जे भने पनि जे गरे पनि बैठकमै कुरा राख्ने । बाहिर जथाभावी नपोखिने अनि त्यसलाई नेतृत्वले तत्काल कार्यान्वयनमा लैजाने । यसरी कार्यकर्ताको भावनालाई नेतृत्वले तत्काल सम्बोधन गर्न सकियो भने लोकतन्त्रको यो सुन्दर अभ्यासले हाम्रा बहस, छलफल र निष्कर्ष निकाल्ने तौरतरिका बदल्न सकिन्छ । आन्तरिक लोकतन्त्रलाई अझ सुदृढ र प्रगाढ बनाउन सकिन्छ । तर जब नेतृत्वले त्यो भावना बुझ्न सक्दैन अनि कार्यकर्तामा निराशा बढ्न थाल्छ । त्यो सार्वजनिक रूपमा घृणा, द्वेष अनि आवेगका रूपमा पोखिन्छ । लोकतन्त्रका लागि यो सबैभन्दा खतरनाक प्रवृत्ति हो । तत्काल सम्बोधन नगर्दा वा नहुँदा नै आमकार्यकर्ता, शुभेच्छुक अनि भलो चिताउनेहरू सार्वजनिक रूपमा पोखिन्छन् भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ । त्यहीअनुसार यो मर्मलाई आत्मसात् गर्नुपर्छ ।>
एउटा जिम्मेवार नेतृत्वको सही पहिचान पनि यही नै हो । प्रश्नबाट नभाग्ने अनि नतर्किने नेतृत्व नै सफल नेतृत्व हो । अनि सत्य बोल्न नडराउने र नेतृत्वका अघि लम्पसार परेर बाहिर छाती फुलाउँदै हिँड्ने कार्यकर्ताभन्दा नेतृत्वमाथि प्रश्नको जोखिम उठाउन सक्ने कार्यकर्ता नै नेपाली कांग्रेसको प्राण हो । जहाँ लोकतन्त्रको अक्सिजन भरिएको हुन्छ । अमेरिकाको ‘स्वतन्त्रता प्रतिमा’ अर्थात् स्ट्यायु अफ लिवर्टी । यसबारेमा जानकारी लगभग सबैलाई हुनुपर्छ । अमेरिका स्वतन्त्र राष्ट्र भएपछि त्यसको स्मरणमा एउटा टापुमा बनाइएको यो प्रतिमा विश्व स्वतन्त्रताको नै प्रतीक मानिन्छ । सामुद्रिक द्वीपको यो प्रतिमा एउटा पार्कमा अवस्थित छ । जसलाई ‘स्वतन्त्रताको बगैंचा’ पनि भनिन्छ । जहाँ हरेक मानव जाति निर्धक्क र स्वतन्त्रतापूर्वक बोल्न सक्छन् । अर्थात् जसका बारेमा मन जे कुरा लागेको छ, त्यो उसले त्यहाँ अभिव्यक्त गर्न सक्छ । त्यसबापत कुनै मानहानिको मुद्दा खेप्नु पर्दैन । त्यसको सजाय भोग्नु पर्दैन । अनि त्यसको दोष पनि बोक्नु पर्दैन ।>
त्यस्तै, नेपाली कांग्रेस पनि लोकतन्त्रको पहरेदार, पहलकर्ता वा बाहकमात्रै होइन, त्यसको उन्नत र उच्चतम प्रयोग र कार्यान्वयनको एक संस्थागत राजनीतिक पार्टी पनि हो । जसरी यसले लोकतन्त्र, प्रजातन्त्र र नागरिक अधिकारका लडाइँहरू लडेर इतिहासका पानामा आफ्नो नाम दर्ज गरेको त्यसैगरी पार्टीभित्रकै लोकतन्त्रलाई जीवन्त राखिराख्न पनि जरुरी हुन्छ । बोलेकै वा नेतृत्वको आलोचना गरेकै भरमा कारबाही भोग्नुपर्ने जुनखाले प्रतिशोधको संस्कार नेपाली कांग्रेसभित्र मौलाउँदैछ, त्यसले पार्टी जीवनको आन्तरिक लोकतन्त्रलाई त मार्दै जानेछ । सँगै राष्ट्र, राष्ट्रियता र नागरिक अधिकारका पक्षमा यसका ऐतिहासिक कदमहरू पनि विस्तारै मेटिँदै जानेछन् ।>
नेपाली राजनीतिमा लोकतन्त्रको परिभाषा जसरी नेपाली कांग्रेसको इतिहाससँगै लेखिएको छ, त्यसको रक्षाका निमित्त अब नेतृत्वको प्रवृत्ति फेरिन जरुरी छ । यो कुनै व्यक्ति, उसको विरासत अनि निगाहामा जन्मिएको पार्टी होइन । ‘मास बेस्ड’ नेपाली कांग्रेसको जन्मसिद्ध सिद्धान्त र आधारशिला पनि हो । त्यसैले केही थान नेतृत्वकर्ता वा केही हुल गुट, उपगुटको स्वार्थमा पार्टीको आन्तरिक लोकतन्त्रलाई मर्न दिनुहुन्न । नेपालको इतिहासमा नेपाली कांग्रेस सधैं ‘स्ट्याच्यु अफ लिवर्टी’ थियो । अर्थात् नेपाली कांग्रेस सधैं सबैभन्दा अग्लो र सग्लो लोकतन्त्रको प्रतिमूर्ति हो । यसलाई ढाल्ने प्रयास नगरौं ।>
>
>>>>>