भ्रष्ट नेताको बिदाइ गर्न राजसंस्था चाहिएको छ : धवलशमशेर

Jasus Khabar 3925+ समाचार ( )
२८ फाल्गुन २०८१

बर्दिया– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले नेपालमा व्यवस्था बदल्ने बेला आएको बताएका छन्। नेपाली जनताले राजसंस्था माग गरेको राणाको भनाइ छ।

‘भ्रष्ट नेताहरूको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ। धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य चाहिएको छ,’ राप्रपा नेता राणाले बुधबार भने

राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म राप्रपाले जारी राखेको अभियान नरोकिने उनले बताए।


‘नेताहरूले हाम्रो धर्म, संस्कृति बेचेको कुरा अहिले प्रष्ट भएको छ। अमेरिकी राष्ट्रपति, अमेरिकी सांसद, भारतीय सांसदहरूले नै यो कुरा उठाइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइबाटै नेपालमा धर्म-संस्कृति मास्ने काम भएको, अमेरिका र नेपाल दुवैतर्फ भ्रष्टाचार भएको प्रष्ट भएको छ,’ राणाले भने

बर्दिया जिल्लामा आयोजित बृहत् मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै राणाले यो विचार व्यक्त गरेका हुन्। देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनातन हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, सङ्घीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे।


राप्रपा आन्दोलन परिचालन समितिले फागुन महिनाभरि सातै प्रदेशका प्रमुख शहरहरूमा मोटरसाइकल र्‍याली सञ्चालन गर्ने र चैत महिना काठमाडौँ केन्द्रित आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ।


प्रतिक्रिया