प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए । यस्तै चिनियाँ उपराष्ट्रपति हान झेङसँग मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए ।>
उनले सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षतामा जोड दिएका थिए । सन् २००१ मा स्थापना गरिएको एससिओ विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एक हो । यस संगठनमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य छन् । अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलंका, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।>>
>>