अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपालले आज पाकिस्तान शाहीन्ससँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ । नेपाल हालसम्म खेलेका पाँचमध्ये तीन खेलमा पराजित हुँदा दुई खेलमा जित निकालेको छ । सुरुवाती ३ खेलमा लगातार पराजय भोगेको नेपालले त्यसपछि लगातार २ जित निकालेको हो ।>
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । मंगलबार भएको चौथो खेलमा नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको नेपालले त्यसपछि बुधबार मेलबर्न रेनेगेड्सलाई ३३ रनले हराएको थियो । पाकिस्तानले भने ५ खेलमा ३ जित निकालेको छ । ११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६-६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन् ।>>
>>