जनकपुरधाम : धनुषामा एक सातादेखि बेपत्ता भएकी भनिएकी एक महिलाको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको छ।>
धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव सडेगलेको अवस्थामा भेटिएको हो।>
स्थानीयले अञ्जली अचानक हराएको र उनका श्रीमान् बेपत्ता रहेको सूचना दिएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।>
अनुसन्धानका क्रममा शनिबार दिउँसो करिब १ बजे पूजाकोठाभित्रै गाडिएको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए।>
प्रहरीका अनुसार अञ्जलीका श्रीमान् हरिराम यादव फरार रहेकाले हत्या उनैले गरेको हुन सक्ने अनुमान गरिएको छ। साथै, उनीहरूकै १० महिनाकी छोरीको अवस्थाबारे पनि कुनै जानकारी छैन।>
स्थानीयका अनुसार गत शनिबार रामहरि र अञ्जलीबीच विवाद भएको थियो। त्यसको भोलिपल्ट रामहरिले श्रीमती हराएको भन्दै छरछिमेकमा हल्ला गरेका थिए। मंगलबारदेखि उनी स्वयं पनि बेपत्ता भए।>
घरका सबै सदस्य एकाएक गायब भएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।>
हाल शव उत्खनन गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको छ। प्रहरीले फरार श्रीमानको खोजी गरिरहेको जनाएको छ।>>