चिरिच्याट्ट र आकर्षक बन्दै मदन भण्डारी पार्क

Jasus Khabar 3959+ समाचार ( )
२७ आषाढ २०८२

रामेछापको खाँडादेवी गाउँपालिका-५ पकरबासको सल्लेनी सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको मदन भण्डारी पार्क पिकनिक र घुमफिरका लागि आकर्षक बनाइँदैछ।

जिल्ला सदरमुकाम मन्थलीबाट करिब आधा घण्टाको दूरीमा रहेको सो पार्कमा सल्लेनी वन भित्र रहेकोले शान्त र रमणीय छ। पार्कलाई आकर्षक र व्यवस्थित बनाउन विभिन्न संरचना निर्माणका साथै वृक्षारोपण पनि गरिएको छ।

पार्कमा घुम्न र पिकनिक खान मानिसहरू आउन लागेका खाँडादेवी गाउँपालिका-५ वडाध्यक्ष मनोज पौडेल बताउँछन्। उनका अनुसार खाँडादेवी मन्दिर दर्शनमा जाने श्रद्धालुहरू पनि सो पार्कमा पिकनिक र अवलोकन भ्रमणका लागि पुग्ने गरेका छन्।

सुरुमा खाँडादेवी गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरी डिपिआर तयार पारेको सो पार्कको निर्माणमा वाग्मती प्रदेश सरकारबाट ५० लाख रुपैयाँको बजेट प्राप्त भएको थियो। उक्त बजेटबाट पार्कभित्र शौचालय, कम्पाउण्ड, मदन भण्डारीको सालिक लगायत संरचना निर्माण गरिएको छ।

पार्कलाई थप आकर्षक बनाउन वडा कार्यालय र गाउँपालिकाले खानेपानी, किचन लगायतका सुविधा मिलाएको छ। जिल्ला वन कार्यालयको समन्वयमा फोहोरा सहितको पोखरी निर्माण गरिएको छ। त्यस्तै पार्क भित्र ढुंगा छाप्नेलगायतका काम भएका छन्।

प्राकृतिक सौन्दर्यले भरिएको सल्लेनी वनको बिचमा रहेको यो पार्क मन्थलीलगायत आसपासका बासिन्दाका लागि पिकनिक स्पट मात्र नभई रमणीय पर्यटकीय थलोका रूपमा विकास हुँदै गएको छ।

पार्कलाई सुन्दर बनाउन खाँडादेवी गाउँपालिकाको युवा परिषद्ले गत वर्ष र यस वर्ष पनि विभिन्न जातका बिरुवा लगाइएको परिषद्का कार्यकारी उपाध्यक्ष मदन खड्काले बताए।

प्रतिक्रिया