एक महिनामा रुपन्देही प्रहरीले समायो साढे २ करोडभन्दा बढीका भन्सार छलीका सामान

Jasus Khabar 3925+ समाचार ( )
३१ जेठ २०८२

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एक महिनामा करिब साढे २ करोडभन्दा बढी रकम बराबरको भन्सार छली तथा चोरीनिकासीका सामान नियन्त्रणमा लिएको छ । 

२२ वैशाख यतामात्रै रुपन्देही प्रहरीले भन्सार छली र सामान चोरी निकासी नियन्त्रणमा सक्रिय  भएको छ । २७ जेठमात्रै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर ल्याएको करिब २४ लाख ४५ हजार रुपैयाँको  १ हजार ३ सय ६९ वटा कृत्रिम यौन खेलौनासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार रुपन्देहीको ओमसतिया गाउँपालिका बाइपासमा चेकजाँचका क्रममा भारतीय नम्बरको युके १८ सिए २५७५ को उक्त परिमाणको यौन खेलौना बरामद गरेको हो । 

अवैध ओसारपसारमा संलग्न चालक भारत उत्तर प्रदेश बिजनौर जिल्ला थाना रामपुरका ४५ वर्षीय नसिब अहमद र भारत उत्तर प्रदेशकै कन्नौज जिल्ला पूर्वा थाना मंगत खडाका २६ वर्षीय देवेन्द्रकुमार सिंहलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए । सापकोटाका अनुसार व्यक्ति र सामानसँगै भारतीय ट्रक थप करबाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा प्रहरी उपरीक्षकका रूपमा प्रदीपबहादुर क्षेत्रीको कमाण्ड रहेको छ । क्षेत्रीको आगमनसँगै रुपन्देहीमा अवैध ओसारपसारका सामान, सामान ढुवानी गर्ने साधन र ढुवानी गर्ने व्यक्तिमाथि कारबाही चलाउन थालेपछि रुपन्देहीबाट तस्करीमा कमी आउन थालेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार  २२ वैशाखदेखि  २६ जेठसम्म २ करोड ५२ लाख ९३ हजार १ सय ११ रुपैयाँ बराबरको भन्सार छली तथा चोरी निकासीका सामान नियन्त्रणमा लिइएको छ । अवैध रूपमा ओसारपसार  भएका सामानलाई भन्सार पठाइएको छ । 

पछिल्ला दिनमा रुपन्देही प्रहरी सीमापारीबाट हुने तस्करीसँगै नदीजन्य पदार्थको अवैध कारोबारको निगरानीमा पनि सक्रिय  भएको छ । प्रहरीले नदीबाट उत्खनन गरी तोकिएको स्थानमा नभई अन्यत्र अवस्थामा लैजाँदै गरेको ९ लाख ९१ हजार ५ सय २६ रुपैयाँ बराबरको नदीजन्य पदार्थ पनि नियन्त्रणमा लिएर जरिवाना गराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

कारबाहीमा पर्नेमा ९ वटा ट्याक्टर, ८ वटा जेसीबी, ट्रिपर र हाइवा ९ वटा गरी २६ वटा मालवाहक साधन रहेका छन् । साथै, तीनवटा पिकअप भ्यान, १० वटा मोटरसाइकल र कारोबारमा संलग्न ८ जनालाई नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया