घरभित्रै सुरक्षित छैनन् कर्णालीका महिला

Jasus Khabar 3925+ समाचार ( )
१४ श्रावण २०८२

कर्णालीमा पतिबाट पत्नी हत्याका घटना बढ्दै गएका छन् । त्यसैमध्येको एक हो, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलास्थित हालैको घटना । गत आइतबार करेखोला बस्ने नेपाली सेनाबाट अवकाश प्राप्त ४२ वर्षीय दानसिंह ठाडाले ४१ वर्षीया श्रीमती रबिना थापाको हत्या गरे । उनले दाउराको चिर्पटले शरीरका विभिन्न ठाउँमा प्रहार गरी बीभत्स हत्या गरेका थिए । मध्य रातमा सुतिरहेको समयमा उनले श्रीमतीको हत्या गरेका थिए । श्रीमती हत्याको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ । 

घटनाको थप अनुसन्धान थालेको सुर्खेत प्रहरीले जनाएको छ । यस्तै, २०८२ असार १७ गते राति रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँकी ३० वर्षीया देविका बुढाथोकीलाई उनका ३२ वर्षीय श्रीमान् चन्द्रबहादुर बुढाथोकीले खुकुरीले घाँटी रेटेर हत्या गरे । त्यसैगरी २०८२ वैशाख २१ गते नेपाली सेनामा कार्यरत श्रीमान् २८ वर्षीय दर्शन खत्रीले सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित झिंगेनारा खोलामा २६ वर्षीया श्रीमती प्रेमा ओलीको ढुंगा प्रहार गरी गरेको हत्या गरे । साउन ९ गते दैलेख घर भई नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा कार्यरत १९ वर्षीया निर्मला थापालाई नेपालगन्ज–१२ का ३३ वर्षीय प्रकाश सुनारले हत्या गरेको घटना अझै सेलाइसकेको छैन । 

कर्णालीका यी प्रतिनिधिमूलक घटनामात्रै हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्ला तीन आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा २४ जना महिलाले आफ्नै श्रीमान्बाटै ज्यान गुमाउनुपरेको छ । मानव अधिकारकर्मी एवं दलित महिला संघ सुर्खेतकी अध्यक्ष मञ्जु सुनार भन्छिन्, ‘कर्णालीमा महिलाविरुद्धका अमानवीय घटनाले महिला घरभित्रै असुरक्षित रहेको देखाउँछ ।’ अझै पनि पुरुषप्रधान समाजले महिलालाई मानवका रूपमा स्वीकार गर्न नसकेको उनको भनाइ छ । ‘नेपालमा महिलामैत्री कानुन हुँदाहुँदै पनि व्यवहारत दैनिक रूपमा महिला भएकै कारणले हत्या, हिंसा तथा अपमान खेप्नुपरेको छ,’ उनी भन्छिन् । दिनानुदिन बढ्दै गइरहेको महिला हिंसा, हत्या र दुव्र्यवहारका घटनाविरुद्ध कर्णालीका अधिकारकर्मी आन्दोलित भएका छन् । 

मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरमा अधिकारकर्मी तथा नागरिक समाज संस्थाहरूले प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनसहित सुर्खेतका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाइएको आवाज संस्था सुर्खेतका निर्देशक पवित्रा गिरीले बताइन् । पछिल्लो समय महिला र बालिका माथि हुने हिंसाका घटनाहरू बढ्दो अवस्थामा रहेको तथ्यहरूलाई मध्यनजर गर्दै विरोधमा उत्रिएको उनको भनाइ छ । 

उनका अनुसार महिलाविरुद्ध हुने अमानवीय, बर्बरता, क्रूरताप्रति घोर भत्सना गर्दै सरकारलाई महिलाको सुरक्षाप्रति संवेदनशील हुन आह्वान गर्दै अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका हुन् । ‘हामीले घरपरिवार र समाजमा स्वतन्त्रता, समानता र मयार्दाका जीवन जिउन पाउने पूर्ण सुरक्षाको वातावरण बनाउन सरकारसँग गरेका हौं,’ उनले भनिन् । अधिकारकर्मीहरूले तीन तहका सरकार, सुरक्षा निकायसँग १४ बुँदे माग राखेका छन् । महिलामाथिको हिंसाका घटनाप्रति भत्र्सना गरेका नागरिक समाज संस्थाहरू र मानव अधिकारकर्मीहरूले घर, परिवार, समाज र सम्बन्धित निकायले महिलालाई जबरजस्ती हिंस्रकको घरमा बस्न बाध्य नबनाउन आग्रह गरेका छन् । 

महिला हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने, महिलाको सुरक्षा र संरक्षणका लागि विशेष सुरक्षा संयन्त्रको व्यवस्थापन गरिनुपर्ने उनीहरूको माग छ ।  मानसिक रोगबाट ग्रसित महिलाका लागि निगरानी, उपचार र नियमनका प्रणाली विकासका साथै परिवारलाई जिम्मेवारी तथा जवाफदेही हुने प्रणाली बनाउनुपर्ने माग अघि सारेका छन् । 

यसैगरी, महिलामाथि भएका हिंसा, हत्या तथा अपराधका घटनाहरूलाई गम्भीर र अमानवीय रूपमा लिँदै सरकारी तवरबाट गम्भीरतापूर्वक कदम चाल्नुपर्ने अधिकारकर्मीको माग छ । महिला सुरक्षा, सचेतना, न्याय सुनिश्चितता र कानुनी अभ्यास समावेश गरी तीनै तहका सरकार, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजसँगको समन्वय तथा सहकार्यमा दीर्घकालीन रणनीति तयार गर्नुपर्ने, सामाजिक न्याय, महिला अधिकार र मानव अधिकारको संरक्षणका लागि प्रभावकारी रूपमा कानुनको कार्यान्वयन हुनुपर्ने अधिकारकर्मीको माग छ । टोल फ्रि नं., उद्धार र पुनस्र्थापनाका कार्यहरू सरकारबाट प्रादेशिक रूपमा अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने, हरेका वडामा महिला हिंसा नियन्त्रणका लागि हेल्पडेस्कको स्थापना गर्नुपर्ने, जोखिममा रहेका महिलाहरूको व्यक्तिगत सुरक्षा, संरक्षण र सामाजिक सुरक्षामा ध्यान दिनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया