- अफगानिस्तानका १३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर काबुलबाट दिल्लीसम्म पुगेपछि उनलाई फिर्ता पठाइयो।
- बालकले जहाजबाट जमिन कस्तो देखिन्छ भनी जान्न ल्यान्डिङ गियरमा बसेको बताएका छन्।
- फ्लाइटनजिक देखेपछि बालकलाई सुरक्षा अधिकारीले पक्रिए र प्रहरीलाई बुझाए।
>
अफगानिस्तानका एक १३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर काबुलबाट नयाँ दिल्लीसम्म पुगेका छन्। आइतबारको यो घटनापछि ती बालकलाई सोधपुछ गरी फेरि अफगानिस्तान फिर्ता पठाइएको समाचार संस्थाहरूले जानकारी दिएका छन्।>
अफगानिस्तानको काम एयरलाइन्सको फ्लाइट आरक्यू–४४०१ काबुलको हामिद करजई एयरपोर्टबाट भारतीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेटमा उडान भरेको थियो। उक्त जहाज बिहान १० बजेर २० मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टको टर्मिनल ३ मा अवतरण भयो।>
सञ्चार माध्यमहरूका अनुसार अवतरणपछि एयरलाइन्सका कर्मचारीहरुले फ्लाइटनजिक एक बालक घुमिरहेको देखे। उनीहरूले तत्काल सुरक्षा अधिकारीलाई खबर गरेपछि विमानस्थलका सुरक्षा अधिकारीले उनलाई हिरासतमा लिए र प्रहरीलाई सुम्पिए।>
सञ्चार माध्यमका अनुसार ती बालकले विमानबाट जमिन कस्तो देखिन्छ भन्ने जिज्ञासाका कारण आफू फ्लाइटको ल्यान्डिङ गियरमा बसेको बयान दिएका छन्। ती अफगानी बालको नाम र विवरण खुलाइएको छैन।>
ती बालक विमानस्थलका सुरक्षा अधिकारीबाट बच्दै जहाजको पछिल्लो ल्यान्डिङ गियरमा लुकेको अधिकारीहरुले जानकारी दिएका छन्।>
ती बालकलाई आइतबार नै सोही फ्लाइटबाट अफगानिस्तान फिर्ता पठाइएको छ।>
>
>>
सुरक्षा विशेषज्ञका अनुसार विमानको पांग्रा नजिक लुकेर यात्रा गर्नु निकै खतरनाक मानिन्छ। ३० हजार फिटको उचाइमा तापक्रम माइनस ४० देखि ६० डिग्री सेल्सियससम्म पुग्ने र अक्सिजन पनि निकै कम हुँदा केही क्षणमै मानिस बेहोस हुने वा मृत्यु हुनेसम्मको सम्भावना हुन्छ।>>>>>