कोशी प्रदेशमा चट्याङ लागेर चार जना घाइते, तीन चौपाया मरे

Jasus Khabar 3925+ समाचार ( )
३० जेठ २०८२

 बुधबार साँझ वर्षासँगै परेको चट्याङले झापा र धनकुटामा चारजना घाइते भएका छन् भने तीनवटा चौपाया मरेका छन्।

साँझ ६:१० बजे झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ सट्टाभर्ना बस्ने ६० वर्षीय पुण्य पौडेल आफ्नै गाईगोठमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका हुन्। उनको दुवै आँखा र दाहिने हातमा चोट लागेको छ र उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएको छ।

सोही समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर ७ टेक्रा बस्ने ४४ वर्षीया डम्बरकुमारी भुजेलको घरनजिकै रहेको गाईको गोठमा बाँधिराखेको एउटा गाई चट्याङ लागेर घटनास्थलमै मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घरभित्र बसिरहेकी डम्बरकुमारी समेतलाई चट्याङले सामान्य भेटेकाले मुखमा सामान्य जलेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर ७ देउराली बस्ने ७० वर्षीय सूर्यबहादुर बस्नेतको घर र गोठमा चट्याङ पर्दा उनी घाइते भएका छन्। उनको शरीरको दाहिने भागमा चोट लागेको छ र उपचारका लागि स्थानीय मेडिकलतर्फ पठाइएको छ। उनको गोठ घरमा बाँधेको एउटा गोरु र एउटा भैँसीको पाडो घटनास्थलमै मर्दा अन्दाजी ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

त्यस्तै, धनकुटाको पाख्रीबास –७ थाक्ले बस्ने ५० वर्षीया टिकाकुमारी भण्डारी आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङको झड्काले लागेर घाइते भएकी छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको प्रहरीले जनाएको छ।

यसैगरी, अबिरल वर्षासँगै परेको चट्याङले संखुवासभाको खाँदबारी ४ बरालगाउँ बस्ने योगराज बरुवालको गोठमा बाँधिराखेको एउटा दुहुना भैँसी मरेको छ।

 

प्रतिक्रिया