हैजा नियन्त्रणका लागि काठमाडौं महानगरमा जनचेतनामूलक कार्यक्रम

Jasus Khabar 3958+ समाचार ( )
२० आषाढ २०८२

काठमाडौं महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। 

अभिमुखीकरण कार्यक्रमसँगै नागरिकले पिउने पानीको नमूना परीक्षण गर्ने तयारी पनि गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि सम्पर्क व्यक्ति ऋषि भुसालले जानकारी दिए। उनको अनुसार विगतको वर्षभन्दा यस वर्ष मनसुन छिट्टै भित्रिएको र नियमित पानी परिरहेकाले हैजाका बिरामी बढ्न सक्ने अनुमान गर्दै महानगरले नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो।

यो कार्यक्रम महानगरका ३२ वटै वडामा सुरु भएको भुसालले जानकारी दिए। विगतका वर्षमा बल्खु, कालीमाटी, टङ्केश्वर क्षेत्रमा हैजाका बिरामी भेटिएका थिए। दूषित पानीबाट सर्ने ब्याक्टेरियाजन्य रोगहरूमध्ये एक हो हैजा। पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ। 

व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका सङ्क्रमितसँग सम्पर्कमा आउनुले पनि मानिसमा यो रोग सर्ने गरेको चिकित्सकहरूले बताउने गरेका छन्। हैजा जीवाणुको सङ्क्रमणका कारण हुन्छ। सामान्यतया पखाला लाग्ने यो रोगको तत्काल उपचार नभए बिरामीको मृत्यु पनि हुन सक्छ।  

प्रतिक्रिया