पछिल्लो समय आत्महत्या एउटा गम्भीर सामाजिक समस्या बनेर उभिएको छ। आर्थिक, मानसिक, पारिवारिक र सामाजिक समस्याहरूले थिचिएका व्यक्तिहरू निराश, असहाय र विकल्पहीन महसुस गरेर आत्महत्या गर्ने अवस्थामा पुगिरहेका छन्। नेपालमा हरेक वर्ष हजारौं मानिसले ज्यान गुमाइरहेका तथ्यांकले यस समस्याको भयावहता प्रष्ट देखाउँछ। अझ युवावर्ग र किशोरकिशोरीहरूमा आत्महत्या दर बढ्दै जानु चिन्ताको विषय बनेको छ।>
आत्महत्या केवल व्यक्तिगत निर्णय होइन, यो सामाजिक, आर्थिक, मानसिक स्वास्थ्यसँग गाँसिएको समग्र समस्या हो। पछिल्लो समयमा बेरोजगारी, सम्बन्धविच्छेद, परीक्षा र नतिजाको तनाव, परिवारभित्रको कलह, लागूपदार्थको दुर्व्यसन, र सामाजिक दबाबले आत्महत्याका घटनाहरू बढाइरहेका छन्। अझ सामाजिक सञ्जालमा फैलिने नकारात्मक सन्देश, अशक्त बनाउने भिडियो तथा पोस्टले पनि युवाहरूमाथि गलत असर पारिरहेको छ।>
>
सरकार र सरोकारवाला निकायले आत्महत्या न्यूनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ। विद्यालयस्तरमै मानसिक स्वास्थ्य शिक्षा दिनु, काउन्सेलिङ सेवा विस्तार गर्नु, आत्महत्याका कारण र जोखिम समूह पहिचान गरी targeted intervention ल्याउनु जरुरी छ। आत्महत्याका लक्षण देखिएका व्यक्तिहरूलाई परामर्श, स्नेह र संरक्षण दिन सक्ने परिवार र समाज तयार पार्नुपर्छ।>
>
सञ्चार माध्यमले पनि आत्महत्या सम्बन्धी समाचार प्रकाशन गर्दा जिम्मेवार भूमिका निर्वाह गर्नु अपरिहार्य छ। अनावश्यक सनसनी नफैलाइ, आत्महत्या न्यूनीकरणमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने पक्षमा सशक्त सामग्री सम्प्रेषण गर्नु आवश्यक छ।>
>
सरकारले स्वास्थ्य मन्त्रालयमार्फत 'सुइसाइड प्रिभेन्सन हटलाइन' को पहुँच ग्रामीण भेगसम्म विस्तार गर्नु, मानसिक रोग विशेषज्ञ र परामर्शदाता अभाव टार्न दीर्घकालीन नीति ल्याउनु अपरिहार्य भइसकेको छ। आत्महत्या रोकथामका लागि परिवार, समाज र राज्यको एकीकृत प्रयास आवश्यक छ। किनभने एउटा जीवनको मूल्य केवल एउटा परिवारको मात्र नभई समाज र राष्ट्रकै सम्पत्तिको रूपमा लिन सक्नुपर्छ।>
>
अन्ततः हरेक नागरिकलाई ‘समस्या समाधान छ, आत्महत्या विकल्प होइन’ भन्ने सन्देश दिने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता हो।>
>