रास्वपाको कार्यालयमा शिक्षक महासंघको धर्ना

Jasus Khabar 3925+ समाचार ( )
१७ भाद्र २०८२

 विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को कार्यालयमा धर्ना दिएको छ ।  

विधेयकमा सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दबाब दिन भन्दै शिक्षकहरूले मंगलबार काठमाडौंको वनस्थलीस्थित रास्वपा कार्यालयमा धर्ना दिनुका साथै ध्यानाकर्षण पत्र बुझाएको हो । 

शिक्षकहरूको ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले शिक्षकहरूका जायज मागलाई सरकारले सुन्नुपर्ने बताए । उनले शिक्षकका मुद्दालाई संसदबाट समेत उठाउने आश्वासन दिए । 

सरकारले बेलैमा शिक्षकका मुद्दामा ध्यान नदिँदा उनीहरू राजनीतिक दलको ढोकामा पुगेर धर्ना दिनुपर्ने अवस्था आएको उनले बताए । 

प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेकाले आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ । 

यसअघि महासंघले एमाले, कांग्रेस र माओवादी मुख्यालयमा धर्ना दिनुका साथै ध्यानाकर्षण पत्र बुझाएको थियो । 

प्रतिक्रिया