अफगानिस्तानमा ६ रेक्टरको भूकम्पले कसरी लियो आठ सय बढीको ज्यान?

Jasus Khabar 3945+ समाचार ( )
१७ भाद्र २०८२

पूर्वी अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ८०० भन्दा बढी मानिसको ज्यान गएको छ। सो भूकम्पमा परेर २ हजार ८०० भन्दा बढी घाइते भएको तालिवान सरकारले जानकारी दिएको छ। 

आइतबार राति करिब पौने १२ बजे गएको भूकम्पका कारण नान्गाहार र कुनार प्रान्तमा ठूलो क्षति पुगेको छ। यस भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट ८ किलोमिटर मात्र तल रहेकोले ठूलो कम्पनका कारण धेरै भौतिक क्षति भएको छ।

धेरैजसो प्रभावित गाउँहरू दुर्गम र पहाडी इलाकामा रहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। भूकम्पका कारण गएका पहिरोहरूले सडकहरू अवरुद्ध भएका छन्। जसकारण राहत सामग्री वितरण गर्न र उद्धारकर्मीहरूलाई प्रभावित क्षेत्रमा पुग्न समस्या भएको छ। धेरै घरहरू माटो र काठले बनेका कारण सजिलै भत्किएका छन्। रातको समयमा मानिसहरू सुतिरहेको बेला भूकम्प आएकोले मानवीय क्षति धेरै भएको जनाइएको छ। 

तालिबान सरकारले भूकम्प प्रभावितहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। एजेन्सी

प्रतिक्रिया