म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा एक दशकअघि परीक्षणका रूपमा गरिएको किवी खेती अहिले पकेट क्षेत्रको रूपमा विस्तार भएको छ । २०७२ मा पदमबहादुर पुन, लक्षु पुन र पृथ्वीप्रसाद पुनले काठमाडौंबाट ५० बोट किवीका बिरुवा ल्याएर परीक्षणका रूपमा खेती गरेका थिए । तत्कालीन समयमा लगाएका बोटले छ वर्षपछि फल दिन थालेपछि स्थानीय किवी खेतीमा आकर्षित भएका हुन् ।>
२०७४ मा वडा कार्यालयले ‘एक घर पाँच किवी’ का बिरुवा लगाउने अभियान सञ्चालन गरेपछि वडामा किवी खेतीको लहर चलेको थियो । किवी खेती सुरु भएको एक दशकमा वडामा करिब चार सय रोपनीमा किवी खेती विस्तार भएको छ । भकिम्ली, चिनाखेत, डाँडाखानी, छाप, सिम, मट्केना, भुकभुके, डोले, मुसुङ गाउँमा किवीको व्यावसायिक खेती विस्तार भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए । उनका अनुसार, भकिम्लीमा अहिले कृषकहरूले पाँच हजार बढी किवीका बिरुवा लगाएका छन् ।>
'किवीलाई स्थानीयले प्रमुख खेतीकै रूपमा अघि बढाएका छन्, वडा र नगरपालिकामार्फत किसानलाई किवीका बिरुवा, पोल, तार र सिँचाइमा अनुदान उपलब्ध हुँदै आएको छ, खेतीयोग्य जमिनमा खाद्यबालीको विकल्पमा किवी खेती विस्तार गर्ने अभियान नै चलेको छ', वडाध्यक्ष पुनले भने । वडाभित्र सामूहिक र व्यक्तिगत रूपमा फर्म दर्ता गरेर किसानहरू गाउँलाई किवी गाउँको रूपमा विकास गर्ने प्रयासमा लागि परेका छन् ।>
भकिम्लीमा बेलढुङ्गा किसान समूहले मात्रै एक हजार दुई सय वटा किवीका बोट लगाएको छ । किवी खेतीको अगुवा किसानको रूपमा परिचित लालबहादुर पुनले तीन सय, लक्षु पुनले दुई सय ५०, लालबहादुर घर्तीले दुर्य सय ५० बोट किबी लगाएका छन् । गाउँका युवाहरूले परम्परागत कोदो, मकै फल्ने बारीमा समेत किवी खेती सुरु गरेका छन् । वडामा हाल ५० भन्दा बढी किसान किवी खेतीमा छन् ।>
किवी खेतीको लहर चलेपछि भकिम्लीमा किवी पकेट क्षेत्र विस्तार गरिएको बेनी नगरपालिकाकी कृषि अधिकृत आकृति ढुङ्गानाले बताइन् । चालु आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाबाट विनियोजन भएको १२ लाख बजेटलाई कृषकको ५० प्रतिशत लागत साझेदारीमा किवी पकेट क्षेत्र विस्तारमा परिचालन गरिएको कृषि अधिकृत ढुङ्गानाले बताइन् ।>
'विगतका वर्षमा यस क्षेत्रमा फलफूलखेती प्रवर्द्धन कार्यक्रममार्फत किवी खेती विस्तारमा नगरपालिकाले सघाएको थियो, यसवर्ष किवी पकेट क्षेत्र विस्तार कार्यक्रम नै सञ्चालन गरेका छौँ, नयाँ बगैँचा स्थापना र व्यवस्थापनमा नगरपालिका र कृषकको समेत गरी २४ लाखभन्दा बढी लगानीको काम गर्न सफल भएका छौँ, यसले सिङ्गो गाउँलाई किवीमय बनाउन सहयोग पुगेको छ', ढुङ्गानाले भनिन् ।>
किवी पकेट क्षेत्र कार्यक्रममार्फत यसवर्ष दुई सय ५० वटा नयाँ बोट रोपिएको छ । किवीका बोटलाई फैलाउनका लागि सात सय दुई वटा पोलसहित तार टाङ्गिएको छ भने सिँचाइका लागि सात वटा ड्रम वितरण गर्नुका साथै सिँचाइ पाइपसमेत वितरण गरिएको छ । किवी खेती विस्तारमा वडा कार्यालय, बेनी नगरपालिकाका साथै कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएका छन् । किवी पकेट क्षेत्र विस्तारले किसानमा किवी खेती विस्तारमा उत्साह छाएको वडा सदस्यसमेत रहनुभएका किसान रत्न जिसीले बताए ।>
वैदेशिक रोजगारको विकल्पमा किवी खेती>
बेनी नगरपालिका– ३ भकिम्लीका युवा खिमबहादुर आले मगरले परम्परागत कोदो, मकैखेती हुँदै आएको आठ रोपनीमा किवी खेती सुरु गरेका छन् । दुई वर्षदेखि किवी खेतीमा लागेका मगरले ११० वटा बोट किवी लगाइसकेका छन् । भकिम्लीको टिम्मरेडाँडामा रहेको बारीमा किवी लगाएका मगरले आयआर्जनका लागि वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँमा व्यावसायिक किवी खेतीलाई रोजेको बताए ।>
'पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई त्यागेर कृषि कर्ममा लागेको हुँ, आफ्नै गाउँको माटोमा पसिना बगाएर स्वरोगजार बन्ने मेरो सपना छ, अझै दुई रोपनी बारीमा किवी विस्तार गर्ने योजना बनाएको छु', उनले भने । यसवर्ष मात्रै बेनी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा दुई सय दुई वटा पोल निर्माण गर्नुभएको छ । किवी खेतीको विस्तार र बगैँचा व्यवस्थापनमा यसवर्ष मात्रै रु छ लाख बराबरको काम गरेको उनले बताए ।>
>
भकिम्लीको मुसुङमा वैदेशिक रोजगारी त्यागेर किवी खेतीमा लागेका किसान लालबहादुर घर्तीले सात रोपनीमा किवी लगाएका छन् । 'रोजगारको सिलसिलामा करिब १० वर्ष ओमन र साउदीमा बिताएँ, त्यहाँ बस्दा पनि घर खर्च चलाउनबाहेक थप आर्थिक उन्नति गर्न सकिएन, त्यसपछि स्वदेश फर्किएर किवी खेतीमा लागेको हुँ', घर्तीले भने । २०७५ मा वडा कार्यालयले किवी खेतीसम्बन्धी तालिम र अभिमुखीकरण सञ्चालन गरेपछि यहाँका धेरैजसो युवाहरू किवीको व्यावसायिक खेतीमा आबद्ध भएका छन् ।>>